इटहरीः मोरङको सुन्दरहरैँचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जना पक्राउ परेका छन् ।

उनीहरूलाई मोरङकै केराबारी क्षेत्रबाट मङ्गलवार राति पक्राउ गरिएको हो । यो समूहबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोलसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ । पक्राउ परेको समूह सोही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी अनुसन्धान भइरहेको छ । यो समूहको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं. प्रदेश प्रहरी कार्यालयको (रिट) समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोली परिचालित भएको थियो । घटना भएको १२ औँ दिनपछि यो समूहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेकाहरूको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । ‘ज्वेलर्स लुटपाट गर्न आउने समूहका केही सदस्यलाई राति १२ बजे केराबारी क्षेत्रबाट पक्राउ गरेका हाँै’ उनले भने ‘थप अनुसन्धान हुँदैछ ।’ पक्राउ परेकाहरूका साथमा रहेका अन्य सदस्य समेतको खोजी भइरहेको प्रहरी स्रोतले बताएको छ ।