खोटाङः खोटाङबाट हतियारसहित जनप्रतिनिधि पक्राउ परेका छन् ।
भरुवा बन्दुसहित खोटाङको रूपाकोटमझुवागढी नगरपालिका–१० का वडा सदस्य पर्शुराम बानियाँ पक्राउ परेका हुन् । प्रहरीका अनुसार अवैध रूपमा भरुवा बन्दुक राखेको सूचनाका आधारमा वडा सदस्यसहित तीन जनालाई सोमबार राति पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वडा सदस्यका छिमेकीहरु ६९ वर्षीय मदनबहादुर बानियाँ र ३३ वर्षीय मिलन बानियाँ रहेका छन् । तीनै जनाविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको खोटाङ प्रहरीका प्रवक्ता इन्सपेक्टर सागर साहले जानकारी दिए । पक्राउ परेका वडा सदस्य पर्शुरामको घरबाट लोड नगरेको एक थान भरुवा बन्दुक तथा मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने एक सय ५० ग्राम बारुद, चार सय ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
एउटै गाउँका तीन जनाको घरबाट अवैध रूपमा राखिएको भरुवा बन्दुक बरामद भएपछि घटनाका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले जानकारी दिए । वडा सदस्य परशुरामको घरबाट बरामद गरिएको भरुवा बन्दुकको जिल्ला प्रशासन कार्यालय खोटाङले प्रदान गरेको अनुमतिपत्र रहेको जनाइएको छ । अन्य दुई जनाको भरुवा बन्दुकको भने अनुमतिपत्रसमेत नरहेको बताइएको छ । वडा सदस्यको भरुवा बन्दुकको अनुमतिपत्र विसं २०७२ सालसम्म नवीकरण गरेको स्रोतले जनाएको छ । जिल्लामा अधिकांश स्थानीय बासिन्दाले प्रयोग गर्ने भरुवा बन्दुक बिना अनुमतिका रहेको स्रोतको दाबी छ । यसअघि गत जेठ १ गते भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित खोटाङका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मालाई भरुवा बन्दुक, वन्यजन्तुको अङ्ग र बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थसहित उनीहरुलाई घरबाटै पक्राउ गरेको हो ।
१० स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भरुवा बन्दुक प्रयोग गरी चोरी शिकारी गर्नेको सङ्ख्या बढेको प्रहरीले जनाएको छ । पर्याप्त वन्यजन्तु पाइने यस जिल्लामा अधिकांश स्थानीय बासिन्दाले मनोरञ्जनका लागि मृग, थार, घोरल, खरायो, कालिजलगायतको शिकार गर्ने गरेका छन् । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा पर्ने जङ्गलमा शिकारी बास बस्दै शिकार गर्ने गरेको जनाइएको छ । पछिल्लो समय जिल्लामा अवैधरूपमा चोरी शिकारी गर्ने क्रम बढेपछि लोपोन्मुख जीवजन्तु भने सङ्कटमा पर्दै गएको छ । चोरी शिकारीको गतिविधि बढ्दै गएपछि नियन्त्रण गर्न प्रहरीले अवैध भरुवा बन्दुक नियन्त्रण अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । अवैध भरुवा बन्दुक नियन्त्रण गर्न जिल्लाका हरेक प्रहरी एकाइलाई निर्देशन दिइएको प्रजिअ शर्माले जानकारी दिए । -रासस