इटहरीः हाइड्रो पावर कम्पनीमा लगानी गर्न चाहाने लगानीकर्ताले अपि पावर कम्पनीको २ लाखभन्दा बढी कित्ता शेयर सस्तैमा उठाउने अवसर पाउने भएका छन् । 

अपिले गत जेष्ठ महिनाको २० गतेदेखि असार १३ गतेसम्म बिक्रि खुल्ला गरेको हकप्रद शेयरमा साविकका शेयरधनीले शेयर खरिद नगरेपछि लिलामीमा राख्नुपरेको हो । कम्पनीले आज साउन १३ गतेदेखि साउन २० गतेसम्मको लागि २ लाख १५ हजार ५ सय ९९ कित्ता शेयर बोलकबोल पद्वतिबाट लिलाम गरी बिक्री गर्ने भएको हो । लिलामीमा राखिएको शेयरमा जोकोही व्यक्ति, कम्पनी, सँस्थाले गोप्य बोलपत्र पेस गरी शेयर खरिद गर्ने आशय व्यक्त गर्नुपर्ने छ भने कम्पनीको न्यूनतम शेयर मुल्य १ सय रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम मूल्यमा नघटाई सोभन्दा बढी कति सम्ममा खरिद गर्न चाहने हो सो को जानकारी गोप्य सिलपत्रमा खुलाउनुपर्ने छ । 

थोरैमा १ सय कित्ता र धेरैमा सबै कित्ता शेयरसमेत किन्ने गरी आवेदन दिन सकिनेछ । मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको अपि पावर कम्पनीको लिलामी शेयर मुत्तिनाथ विकास बैँकका शाखा कार्यालयहरु भक्तपुरको थिमि, ललितपुरको कुमारीपाटि, सुनसरीको इटहरी, इलामको इलाम बजार, पोखराको पृथ्वी चौक, रुपन्देहीको बुटवल, मोरङ्खको विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरबाट सिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । लिलामी शेयरलाई राम्रो सदुपयोग गर्यो भने शेयर सस्तैमा उठाउन सकिने विज्ञ लगानीकर्ताहरुको बुझाइ रहेको छ ।