इटहरीः झापाको दमक नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पत्तिको ज्यान गएको छ ।

सुनसरीको इटहरीबाट झापाको सुरुङ्गातर्फ गइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ४ ख ८७३० नम्बरको ट्रकले राति १०ः१० बजे ठक्कर दिँदा मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका–३ का ४३ वर्षीय पूर्णबहादुर बिष्ट र उनकी पत्नी ३६ वर्षीया भीमा बिष्टको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बिष्टद्वयलाई उपचारार्थ दमकस्थित लाइफलाइन अस्पताल पुर्याइएकोमा चिकित्सकले उनीहरुलाई तत्कालै मृत घोषित गरेका थिए ।

दुर्घटना गराउने ट्रक र ट्रक चालक मोरङको विराटनगर महानगरपालिका ४ घर भएका ४८ वर्षीय सुजन थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ट्रक चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको देखिएको भन्दै प्रहरीले विस्तृत अनुसन्धानपछि निष्कर्षमा पुग्न सकिने प्रष्ट पारेको छ ।