इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहकाले सतर्कता अपनाउन अपिल गरेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका बी.१.६१७.२ डेल्टा भेरियन्ट तथा तीन ओटा नमूनामा थप उत्परिवर्तित भेरियन्ट के ४१७ एन म्युटेसन भेटिएको छ । यससँगै हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा बी १.१.७ र डेल्टा भेरियन्ट बी १.६१७.२ तथा तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट बी १.६१७.१ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
भारतको नयाँ दिल्लीस्थित डब्ल्यूएचओ आइडेन्टिफाइड सेन्टर फर एक्सलेन्स इन जेनोमिक्स, दि इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टग्रेटिभ बायलोजी (आईजीआईबी) मा विभिन्न उमेर समूहका ४७ नमूनाको परीक्षणबाट यस्तो नतिजा आएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालनाका साथै कोरोनाको सम्भावित तेस्रो महामारीको तयारी गर्न पनि मन्त्रालयले सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ । नयाँ भेरियन्टहरु सबै उमेर समूहका लागि जोखिमपूर्ण रहेको मन्त्रालयले प्रष्ट पारेको छ ।