इटहरीः प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जयकुमार राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनमा समर्थन जनाएका छन् । सांसद राईले विगत २ महिनादेखि जारी आन्दोलनका विषयहरू सम्बोधन गर्न तथा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

साउन १२ को प्रतिनिधिसभा बैठकमा एउटै मात्र विषयमा बोल्दै सांसद राईले आन्दोलनरत कर्मचारी तथा चिकित्सकको माग सम्बोधन हुनुपर्ने बताएका थिए । सरकारले छानबिन समिति बनाइसकेकाले चाँडो समस्या समाधान गर्नुपर्ने राईले बताएका थिए ।

बीपी प्रतिष्ठानमा विगत २ महिनादेखि त्यहाँ भएको अनियमिततालाई रोक्न माग राख्दै कर्मचारी तथा चिकित्सक आन्दोलनरत छन् । स्थानीय नागरिकहरु, डाक्टर गोविन्द केसीलगायत चिकित्सकहरूले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।