धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक डाक्टरलाई अभद्र व्यवहार गरेको आरोप लागेका आर्थिक प्रशासन महाशाखा प्रमुख कमल रायमाझीको सरुवा भएको छ ।

आवासको विषयमा कमल रायमाझीले डा.विप्लव कार्कीलाई अभद्र व्यावहार गरेको भन्दै जुनियर रेजिडेन्टहरु काम छोडेर आन्दोलित भएका थिए । डा.कार्कीले पनि रायमाझीविरुद्ध अभद्र व्यवहारमा जाहेरी दर्ता गराएका थिए । चारै जना पदाधिकारीहरुसँग वार्ता हुँदा २४ घण्टे स्पष्टीकरण सोध्ने, भविष्यमा घटना नदोहोर्याउने, जिम्मेवारीबाट हटाउने र मुद्दालाई मेलमिलापबाट मिलाउने सहमति भएको थियो । रायमाझी र डा.कार्कीबीचको घटनाले प्रतिष्ठानका जेआरहरु विरोधमा उत्रिएर स्थिति तनावपुर्ण बनेकोले वातावरण साम्य बनाउन प्रतिष्ठानले मेलमिलाप गर्ने सहमति गरेको थियो । आन्दोलनरत जुनियर रेजिडेन्टहरुसँग कारबाही गर्ने प्रतिबद्धता जनाए अनुसार लेखा प्रमुख रायमाझीलाई प्रतिष्ठानले कारबाहीस्वरुप सरुवा गरेको हो ।

आर्थिक प्रशासन प्रमुखबाट कमल रायमाझीलाई सामान्य प्रशासनमा सरुवा गरिएको छ । रायमाझीलाई सरुवा गर्नेबारे उपकुलपति डा.ज्ञानेन्द्र गिरीको हस्ताक्षर भएको पत्र प्राप्त भएपछि कर्मचारी प्रशासनले सरुवा गरेको हो । जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले एक विज्ञप्ति जारी गर्दै सहमति बमोजिम आफूहरुको माग पूरा भएकोमा प्रतिष्ठान प्रशासनसहित सबैलाई धन्यवाद दिएको छ । यसले गल्ति गर्ने जो कोहीलाई कारबाही हुन्छ र शक्तिको बलमा कसैलाई बलमिच्याइँ गर्न हँुदैन भन्ने नजीर स्थापित भएको सोसाइटीले जनाएको छ । साथै, आफूहरुको आन्दोलन कुनै व्यक्ति र संगठनका विरुद्ध नभएर गलत र आपराधिक कार्यको विरुद्धमा भएको पनि सोसाइटीले विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।