इटहरीः इलाका प्रहरी कार्यालय इटहरीमा यहाँ कार्यरत प्रहरी र थुनुवाका लागि स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदाय–पालिका साझेदरी समिति इटहरीको आयोजना र इटहरी अस्पतालको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायबउपरीक्षक अर्जुन केसीले जानकारी दिएका छन् । उनका अनुसार हाल यहाँको हिरासतमा रहेका ४५ जना थुनुवा र यहाँ कार्यरत प्रहरीको स्वास्थ्य जाँच गरिएको हो ।
उनका अनुसार वर्षायाम सुरु भएसँगै यहाँका थुनुवा र प्रहरी कर्मचारीलाई खोकी लाग्ने, ज्वरो आउने र टाउको दुख्नेजस्ता समस्या देखिएकाले स्वास्थ्य शिविर आयोजना गरिएको हो । यसअघि इलाका प्रहरी कार्यालय इटहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रक्तदान लगायतका कार्यक्रम पनि गर्दै आएको छ ।