इटहरीः सोमबारको कारोबारमा ८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आजबाट २९ अङ्कले वृद्धि भएको छ ।

सोमबार मात्र केन्द्रीय बैंकले लघुवित्त बैंकका साथै क, ख र ग वर्गका बैंक तथा वित्तीय सँस्थालाई फरक फरक एकीकृत निर्देशन जारी गरेको भएपनि शेयर बजारमा त्यसको नराम्रो प्रभाव देखिएन । नेपाल राष्ट्र बैंकले असल कर्जाको प्रोभिजनमा सीमा बढाएपछि बैंक तथा वित्तीय सँस्थाको नाफामा केही असर परेको छ भने कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम नाफा गर्ने बैंक तथा वित्तीय सँस्थाले लाभांशसमेत बाँड्न नपाउने गरी निर्देशिका जारी गरेपछि त्यसको असर शेयर बजारमा पर्ने विज्ञहरुको प्रक्षेपण गलत सावित भएको छ । कारोबार सुरु भएको प्रि ओपनिङ्ख सेसनमा परिसूचक केही घटेको भएतापनि समग्र शेयर बजार उकालो लाग्दै गएको र बजार बन्द हुने बेलासम्म आइपुग्दा सकारात्मक देखिएको छ । मंगलबारको कारोबारबाट नेप्से परिसूचक अल टाइम हाइ अर्थात् अहिले सम्मकै उच्च विन्दु ३०७९ दशमलव ६६ अङ्कमा पुगेको छ ।

मङ्गलबार ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँमा खरिद बिक्री भएका छन् । सो दिन २२५ कम्पनीका १ लाख ४१ हजार ६५२ कारोबार भएका थिए । मङ्गलबार बैकिङ्ख ट्रेड्रिङ्ख, होटल तथा टुरिजम र माइक्रोफाइनान्स समुहको कारोबारमा अघिल्लो दिनको तुलनामा कमी आएको भएता पनि कारोबार रकम भने राम्रो देखिन्छ । मल्टिपर्पस फाइनान्स, खानिखोला हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतभन्दा ठूलो वृद्धि भएको छ । जसको अर्थ यी कम्पनीका लगानीकर्ताले राम्रो नाफा कमाउन सफल भएका छन् ।