इटहरीः एक महिलालाई यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीका एक असईलाई नियन्त्रणमा लिइएको छ ।
ट्राफिक प्रहरी पोस्ट भान्टाबारी सुनसरीमा कार्यरत जितेन्द्रनारायण मण्डलविरुद्ध साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ति करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि अनुसन्धानको लागि मण्डललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । २३ वर्षीया महिलाले असई मण्डलविरुद्ध जबरजस्ति करणीको जाहेरी साउन ८ गते दिएकी थिइन् । मण्डलले ती महिलालाई अन्तिम पटक २०७७ चैत २८ गते इटहरी ६ स्थित अरुण होटल एन्ड लजमा जबरजस्ति करणी गरेको आरोप छ । त्यसअघि पनि मण्डलले आफूलाई श्रीमति बनाउने भन्दै ४ वर्षदेखि मण्डल सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौकहीमा डेरा गरी राखेको महिलाको भनाइ छ ।
मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको उनी बताउँछिन् । गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको महिलाको दाबी छ । मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । मण्डललाई म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ ।