इटहरीः इटहरी उपमहानगरपालिकाले विभिन्न उमेर समुहका नागरिकका लागि वितरण गरिरहेको खोप कार्यक्रममा खोप लगाएर सुरक्षित हुनेभन्दा यहीँबाट कोरोना सर्ने डर बढेको छ ।
उपमहानगरले साउन ११ गतेबाट ५५ वर्ष वा सोभन्दा बढी उमेर समुहका जेष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोप लगाउने क्रममा चरम भीडभाड भएको हो । उपमहानगरले वडा नम्बर ९ मा रहेको जनता माध्यमिक विद्यालयको प्राङ्गणमा खोप उपलब्ध गराइरहेको छ । यहाँ खोप लगाउन आउने अधिकांशले यतिबेला खोप लगाएर सुरक्षित हुनेभन्दा भ्रगोल खोप व्यवस्थापनले कोरोना सर्ने डर बढेको गुनासो गरेका छन् ।
‘यो खोप लगाउने केन्द्रभन्दा कोरोना सार्ने केन्द्रजस्तो छ’, यहाँ खोप लगाउन आएका योगेन्द्र दाहालले भने, ‘यो त योजना नै नगरी काम गरेको छ । टोल टोलमा गएर खोप लगाएको भए यस्तो भीड नै हुँदैनथ्यो ।’ उनले उपमहानगरको यो खोप वितरण गर्ने प्रणालीले कोरोनाबाट बच्नेभन्दा संक्रमणबाट मर्ने खतरा बढेको बताए । ‘खोप लगाएर सहज हुन्छ भनेर आएको । एकदम असहज भइरहेको छ’, यहीँ खोप लगाउन आएकी जेष्ठ नागरिक उर्मिला कटुवालले भनिन्, ‘खोप लगाएर कोरोना लाग्दैन भनेर आएको, झन् बिरामी पो परिएलाजस्तो छ ।’ यस्तै खोप लगाउन राखिएको लाइन नै अव्यवस्थित भएको उनले गुनासो गरेकी छन् । सबैलाई एकै लाइनमा राख्दा आफूजस्ता जेष्ठ नागरिकलाई शारीरिक कमजोरी हुने गरेको उनले बताइन् ।
भीडभाडकै कारण खोप लगाउन आएकी एक युवति बेहोस भइन् । ‘लाइनमा बस्दा भीडभाड भयो । हावा कतैबाट आएन’, ती युवतिले भनिन्, ‘मान्छेले ठेलामठेल गरेर म बेहोस नै भएँ ।’ उनीजस्तै अन्य केही पनि बेहोस भएका थिए । खोप कार्यक्रम थाहा पाएपछि बिहान सबेरैबाट जनता माविमा सर्वसाधारणको लाइन थियो । बिहानैबाट आएकाले जेष्ठ नागरिकहरु बढी समस्यामा देखिन्थे । ‘हामी बिहान ७ बजेबाट यहाँ लाइनमा छौँ । खोप ११ः२५ मा सुरु भयो’, एक जेष्ठ नागरिकले भने, ‘त्यसपछि थामिनसक्नु भीड हुन थालो । अहिलेसम्म खोप लगाउन पाएका छैनौँ । बुढापाका, अशक्तलाई प्राथमिकता दिनुपर्ने तर यहाँ छैन । हामीलाई साह्रै गाह्रो परेको छ ।’ यसरी घण्टौँसम्म कुर्दा पनि खोप नपाएपछि धेरै मानिस खोप नै नलगाई घर फर्किएका छन् ।
यता यस विषयमा इटहरी उपमहानगरपालिकाले आफ्नो बचाउ गर्दै नगरिक नै अबुझ भएको बताएको छ । इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख रामकुमार धमलाले विभिन्न ठाउँमा खोप वितरणको लागि केन्द्र तोकेको तर २० वटै वडाका नागरिकहरु जनता माविमै आएकाले भीडभाड भएको भन्दै आफ्नो बचाउन गरेका छन् । ‘हामीले विभिन्न ठाउँमा खोप वितरणको लागि केन्द्र तोकेका छौँ’, इमर्जेन्सी शाखा प्रमुख धमलाले भने, ‘तर २० वटै वडाका नागरिहरु यहीँ आएकाले यस्तो भीडभाड भएको हो । म सम्पूर्ण नागरिकलाई तोकेको ठाउँमा गएर खोप लगाउन अनुरोध गर्दछु ।’ इटहरी उपमहानगरपालिकाले साउन ११ र १२ गते इटहरी अस्पताल, परिवार स्वास्थ्य केन्द्र इटहरी ५, आर्युवेद औषधालय इटहरी २, हाँसपोसा स्वास्थ्य चौकी, खनार स्वास्थ्य चौकी, पकली स्वास्थ्य चौकीमा २० वटा वडाका नागरिकको लागि खोप वितरण गरेको हो ।