काठमाडौँ: नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

 नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ । प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतिलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् । प्रत्येक शनिबारको निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।

नर्भिक अस्पतालले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपिडी सेवा सञ्चालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपीडी सेवा लिन सक्नेछन् । नर्भिक अस्पतालका सीईओ मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।