इटहरीः सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर साउन २० गतेबाट निष्कासन गरी बिक्री खुल्ला गर्ने भएको छ ।
इन्स्योरेन्स कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत बराबर हुन आउने रकमको ६० लाख कित्ता शेयर एक सय रुपैयाँ अङ्कित मूल्यका दरले सर्वसाधारणमा बिक्री गर्न लागेको हो । बिक्री गर्न लागिएको कुल ६० लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता शेयर कर्मचारीलाई र बाँकी ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी शेयर भने सर्वसाधारणको लागि बिक्री गरिने छ । जारी हुन लागेको साधारण शेयर लगानीकर्ताको मागको आधारमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन खुल्ला रहनेछ । प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीको साधारण शेयरलाई नेपाल धितोपत्र बोर्डले केही दिनअघि मात्र शेयर निष्कासनको अनुमति दिएको थियो ।
साधारण शेयर निष्कासनका लागि कम्पनीले गराएको क्रेडिट रेटिङ्ख अनुसार इक्राले समयमै वित्तीय दायित्व पूरा गर्ने कम्पनीमा ट्रिपल बी को रेटिङ्ख प्रदान गरेको छ । ट्रिपल बी भनेको समयमै वित्तीय दायित्व पूरा गर्नेमा मध्यम रहेको संकेत प्रदान गर्ने गर्छ । सानिमाको आईपीओ आवेदनका लागि सि आश्वा सदस्य बैँक तथा वित्तीय सँस्था र मेरो शेयरको एप्लिकेसन र वेबबाट घरमै बसिबसी आवेदन दिन सकिन्छ । एक अर्ब चालिस करोड रुपैयाँ चुत्ता पुँजी रहेको कम्पनीको साधारण शेयर बिक्रीपश्चात् २ अर्ब चुक्ता पुँजी पुग्नेछ ।