इटहरीः झुटो विवरण पेस गरी नेपालको जन्मसिद्ध नागरिकता लिएका एक भारतीय नागरिकलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश जारी गरेको छ ।
कारागार चलान हुनेमा अनिरुद्र भनिने अनिरुद्ध शर्मा रहेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । अभियुक्त शर्माले २०६३ माघ ७ गते सुनसरीको साविकको दुहवी ६ बाट जन्मसिद्ध नागरिकता लिएकोमा उनीविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा परेको थियो । सो मुद्दाको सुनुवाइ गर्दै सुनसरी जिल्ला अदालत न्यायाधीश हेमबहादुर सेनको इजलासले शर्मालाई गत जेठ १६ गते ६० हजार रूपैयाँ धरौटीमा रिहा गरिदिएको थियो । तर, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (२) ‘ख’ बमोजिम १ वर्षभन्दा बढी कैद सजाय हुनसक्ने मुद्दाका विदेशी अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने कानूनी प्रावधान उल्लङ्घन हुन गई जिल्ला अदालतको आदेश बेरितको ठहर भएकाले उच्च अदालतले बदर गरिदिएको हो । उच्च अदालतका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र किरणदेवी गुप्ताको संयुक्त इजलासद्वारा जारी आदेशमा भनिएको छ, ‘प्रतिवादीलाई धरौटीमा छोड्ने जिल्लाको आदेश नमिलेको हुँदा त्यसलाई बदर गरी निज प्रतिवादीलाई मिसिल संलग्न प्रमाणका आधारमा थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नू गराउनू ।’
झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएका विदेशी नागरिकलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ । अभियुक्त शर्माले नागरिकता वितरण टोलीमार्फत् ०३३००९÷३२५ नम्बरको नेपाली नागरिकता लिएको प्रहरी अनुसन्धानले देखाएको छ । उनलाई नागरिकता दिने अधिकारी तत्कालीन नागरिकता वितरण टोलीका प्रमुख पुण्यराज भट्टराई रहेका छन् । झुटो विवरणका आधारमा नागरिकता जारी गर्ने अधिकारीलाई कारबाही गर्न भने प्रहरीलाई प्रशासनले असहयोग गरिरहेको छ । नागरिकताका लागि सिफारिस र सनाखत गर्ने तथा नागरिकता दिलाउनेको सबै विवरण खुल्ने अनुसूची फारम प्रहरीले माग गर्दा जिल्ला प्रशासन कार्यालयले सो फारम उपलब्ध नगराएको जिल्ला प्रहरी कार्यालयसम्बद्ध स्रोतले जनाएको छ । विदेशी नागरिकलाई झुठा विवरणको आधारमा नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । एसपीजे ०२३९३३५ नम्बरको भारतीय मतदाता परिचयपत्र वाहक अभियुक्त शर्मा अदालतको फैसलापछि फरार रहेको जनाउँदै प्रहरीले उनको खोजी तिव्र पारिएको उल्लेख गरेको छ ।