इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिका ३ का अटो चालक ३० वर्षीय बिषम श्रेष्ठको मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ज्यान गएको छ ।

अटो चलाउने क्रममा विराटनगरको एयरपोर्टमोडमा पुगी बेहोस भएका श्रेष्ठलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारार्थ नोबेल अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई तत्कालै मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार को २ ह २३३३ नम्बरको अटो चलाउँदै आएका श्रेष्ठ हिजो साँझ एयरपोर्टमोडको पश्चिमतर्फ अटो राकेर बसेकै अवस्थामा अटोभित्रै बेहोस भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकका आफन्त सम्पर्कमा आइसकेको बताउँदै प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।