इटहरीः नयाँ वर्ष २०७८ को अवसरमा राजधानीको नयाँ बानेश्वरमा फोकस फेसन हाउस नामक मोडलिङ एजेन्सी सञ्चालनमा ल्याइएको छ । 

फेशन हाउसको प्रमुख अतीथी नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक पत्रकार विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरिका श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर शुभरम्भ गरे । कार्यक्रममा अतिथिहरुले केक काटेर फेसन हाउसको लागि शुभकामना व्यक्त गरेका थिए । फेसन हाउसमार्फत् विभिन्न खालका इभेन्ट र ब्युटि प्रेजेन्टको आयोजना गर्नुका साथै, विज्ञापन तथा वेव सिरिज र म्युजिक भिडियो निर्माण, मोडलीङ फोटो सुट गर्नुका साथै मोडलहरुलाई ग्ल्यामर क्षेत्रमा भित्र्याउन सहयोग गर्ने फेसन हाउसका सञ्चालक आदर्श शर्माले बताए । इभेन्ट आयोजनाको क्षेत्रमा करिब आधा दशकको अनुभव बोकेका आर्दशले रक्की मर्हजन, एलिना क्षेत्री, सिर्जना गुरुङलगायत आफ्ना अनुभवी साथीहरुको टिमका साथ फेसन हाउस सञ्चालनमा ल्याएका हुन् । 

आगामी दिनमा केही इभेन्ट गर्ने तयारी रहेको र त्यसको लागि थिम बनाएर अगाडि बढिरहेको आदर्शले बताए । ‘हाम्रो सोच भनेको आगामी दिनमा यो क्षेत्रमा राम्रा राम्रा इभेन्ट तथा पेजेन्ट आयोजना गर्नु हो । आगामी दिनमा फेसन आउसमार्फत् मिस नेपाल लेभलको इभेन्ट अर्गनाइज गर्ने सोच छ’, उनले भने । आदर्शले आफूहरुले धेरै इभेन्ट नगर्ने तर इभेन्टलाई गुणस्तरीयता दिने बताए । ‘हामी क्वान्टिटीमा भन्दा पनि क्वालिटीलाई ध्यानमा राखेर इभेन्ट अर्गनाईज गर्नेछौँ । क्वालिटीको हिसाबले राम्रो काम गरेर इभेन्ट अर्गनाईजेसनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनेछौँ भन्ने विश्वास लिएको छु । साथै अहिले हामी ग्ल्यामर क्षेत्रमा आउन चाहनेहरुलाई प्रशिक्षण दिएर राम्रो प्ल्याटफर्म दिनेछौं’ उनले भने । प्रमूख अतिथि पत्रकार विदुर गिरीले कोरोना संक्रमणलार्ई ध्यानमा राखी अहिलेको समयमा विश्व मनोरञ्जन जगत्ले अगाडि बढाएको अवधारणालाई पछ्याउँदै प्रविधिको सदुपयोग गरेर मोडलिङ क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।