कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘जादू’ सार्वजनिक गरिएको छ ।

कविता र गीतमा कलम चलाउंदै आएका शर्माको यो दोस्रो गीत हो । रुपन्देहीको देवदहमा स्थायी रुपमा बसोबास गर्ने शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन् । नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माको यसअघि ‘मुटुभरि देश बोकी’ बोलको राष्ट्रप्रति समर्पित गीत आइसकेको छ साथै उनको कविता संग्रह ‘प्रवासका जूनहरु’ प्रकाशित भइसकेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्यसमेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन् । ‘जादू’ बोलको सार्वजनिक गीतमा नेपाली सांगीतिक क्षेत्रका नक्षत्र राई ईज किङ्ग राजेश पायल राई तथा गायिका मेलीना राईको स्वर रहेको छ भने थूप्रै चर्चित गीतहरुका सर्जक नेपाली सांगीतिक आकाशमा एउटा ओजस्वी नाम बनाएका वरिष्ठ संगीतकार आनन्द राईको संगीत रहेको छ ।

यसैगरी, संगीत संयोजन महाराज थापाको रहेको छ । सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशन युवराज वाईबा, सम्पादन विकास दाहाल, छायांकन निशल पौडेल तथा दीपेन्द्र भट्टको रहेको छ । भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ । साथै सो भिडियोमा महेश्वर शर्मा तथा सोनम पाण्डे शर्मालाई समेत देख्न सकिनेछ । भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।