धरानः वरिष्ठ कला समालोचक मुकेश मल्लले कलाकारले नबुझी चित्र बनाउने गरेका कारण नयाँ कुरा आउन नसकेको बताएका छन् ।
शुक्रबार धरानमा होटल सेछद्वारा आयोजित ‘चित्रकलासम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले कलाकारले बुझेर मात्र काम गर्नुपर्ने सुझाव दिए । कलाकारले चित्रकारीतालाइ राम्ररी बुझ्न नसक्दा नेपालमा २ सय वर्ष पहिलेकै ल्याण्डस्केप ( दृष्यचित्र) लाई पछ्याउन बाध्य भएको उनले बताए । कलाकारलाई ल्याण्डस्केप सम्बन्धि नयाँ सीप दिन नसकिएको बताउँदै कलाकारले आफूले गर्ने विषयवस्तुको गहन अध्ययन गर्न जरुरी रहेको उनले बताए ।
‘आफूले चित्र उतार्ने विषयवस्तुको गहन अध्ययन गर्नुस्, अनि नयाँ कन्सेप्ट निकाल्नुस् । तब नयाँ कुरा दिन सकिन्छ,’ उनले भने । नेपाली कलाकारले बनाएका पेन्टिङको स्पष्ट विषयवस्तु नहुँदा बिक्री हुन नसकेको उनले बताए । अग्रज पत्रकार हर्ष सुब्बाले कलाकार र मिडियाबीच अन्तरक्रिया आवश्यक रहेको बताए । अन्तरक्रियाबाट नयाँ थिम निकाल्न सकिने हुँदा बेला बेलामा अन्तरक्रिया कार्यक्रमको खाँचो रहेको उनको भनाइ थियो ।
कार्यक्रममा धरानका कलाकारले आ–आफ्नो जिज्ञासा राखेका थिए । अन्तरक्रिया कार्यक्रम कलाका बारेमा जानकारी गराउन आयोजना गरिएको होटलका सञ्चालक एवम् पर्यटनकर्मी बासुदेव बरालले बताए ।