इटहरीः फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहीबार काठमाडाँै मलस्थित डाड्युपन्यु रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो ।
एक दशकअगाडि निर्माण भएको फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । फिल्मका निर्माता मौनता श्रेष्ठ हुन् । मौनता नेपाली फिल्मका सफल स्क्रिप्त राइटर हुन् । उनले एकसय बढी फिल्म लेखेकी छन् । मदन घिमिरेको निर्देशक रहने फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बीसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दिया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालिराजलगायतको अभिनय रहनेछ ।
कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव रोज राणा, वितरक तथा निर्माता गोपाल कायस्थ, निर्माता तथा चलचित्र वितरक सुशील पोखरेललगायतले फिल्म निर्माण सफलताका लागि शुभकामना दिए । थ्रिलर र सस्पेन्स विषयमा भरपुर नारी एक्सन समेटिएर फिल्म निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए । अगामी चैतको पहिलो साताबाट छायांकनमा निस्कने फिल्ममा रामशरण उप्रेतिको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेति र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर तथा कमल राईको नृत्य रहनेछ । फिल्मका निर्माण नियन्त्रक नारायण चालिसे रहेका छन् ।
                    
        
        
                            
                                                            
        



















