इटहरीः चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरिएको छ । यही २७ फागुनबाट यो चलचित्रको छायांकन सुरु गरिने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् ।

काठमाडौँमा हिजो एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर २ को निर्माण घोषणा गरियो । चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर २ छायांकन थालिएको र यो चलचित्र रिलिजपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता निर्देशक चाम्सले घोषणा समारोहमा बताए । युद्धमा शहादत प्राप्त गरेका गोर्खा सैनिकप्रति पनि कार्यक्रममा पुष्पगुच्छा चढाएर श्रद्धासुमन अर्पण गरियो । निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिहरुले व्यक्त गरेका भनाइ र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्यदृष्यसहित कार्यक्रममा प्रकाश पारे । गोर्खा सैनिकका नभनिएका हजारौं कथा भएको र जसमध्ये एउटा वास्तविक कथालाई यो फिल्ममा उतार्न लागेको पनि उनले बताए ।

गोर्खा वारियर चलचित्र ४ श्रृङ्खलासम्म निर्माण गर्ने घोषणा पनि उनले कार्यक्रममा गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यो चलचित्रले नेपाल र नेपालीलाई गोर्खा सैनिकको रुपमा श्रव्यदृष्यमार्फत् विश्वमा चिनाउने विश्वास व्यक्त गरे । यस्तो समयमा गोर्खा सैनिकको कथामा अन्तर्राष्ट्रिय चलचित्र बनाउनु मिलन चाम्सको साहसिक कार्य भएको पनि उनले बताए । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माता मिलन आफैं हुन् । जसमा सह निर्मातामा सुरेश राई, पूर्ण लिम्बू रहेका छन् । चलचित्रलाई नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिने भएको छ । यो चलचित्रमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिषिर वाङदेल, बुद्दी तामाङ, कविता आले, बिरुप घले, सारा राई, मनोज केसीसहितको मुख्य भूमिका रहने छ । रितेश चाम्स नव नायकको रुपमा यो फिल्मबाट प्रस्तुत हुँदैछन् । साहसिक गोर्खाली सैनिकको बारेमा चलचित्र निर्माण हुन लागेको र आफू पनि गोर्खा सैनिकको अफिसरको रुपमा यो चलचित्रमा प्रस्तुत हुन पाउँदा खुसी लागेको अभिनेता विजय लामाले कार्यक्रममा बताए ।

यस्तै नव अभिनेता रितेश चाम्सले निकै तयारीपछि यो चलचित्रमार्फत् डेब्यु गर्न लागेको बताउँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाए । अभिनेत्री रेविका गुरुङले चलचित्रमा आफूलाई मिलन चाम्सले नै ल्याएको र यो फिल्ममा मुख्य नायिकाको जिम्मेवारी दिँदा झनैे खुसी लागेको बताइन् । हास्य अभिनेता बुद्दी तामाङले आफू होचो कदको भए पनि गोर्खाली सैनिकको रुपमा दर्शकलाई फरक काम देखाउन लालायित भएको छु भने । आगामी २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘सरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन, मिलन चाम्स र गिरीराज घिमिरेको लेखन, अर्जुन बिसीको सम्पादन, सुदीप बराल डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहने छ ।