इटहरीः लोकदोहोरी क्षेत्रमा एकछत्र राज गर्न सफल गायक घमेश दुलाल एक दशकभन्दा बढीसम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान थाप्नुपर्थ्यो कि युट्युबमा खोज्न थाल्नुपर्थ्यो । उनका शुभचिन्तकको मनमा लाग्थ्यो, अब घमेश दुलालका नयाँं गीत आउने छैनन् । उनका नारायणथानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीतहरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएर बसिरहेका छन् ।

गुमनामजस्तै भएका गायक घमेशको जीवनले कोल्टे फेरेको छ । पछिल्लो समय उनी हरेक दिनजसो नयाँ सृजनामा तल्लिन छन् केही समयअगाडिदेखि चाडपवृकेन्द्रित लोक गीतहरु गर्दै आएका घमेश दुलाल लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रवद्र्धनमा लागिपरेका छन् । उनले काठमाडौँको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो सञ्चालमा ल्याएका छन् , यसकै उपज हो ११ वर्ष पछिको उनको पुनरागमन सहितको नयाँ लोकदोहोरी गीत “वनमा खयर“ ।

“वनमा खयर“ मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । चर्चित रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ । घमेश र प्रभावन जे २ दशकअघिदेखि रेडियो नेपालमा गीत गाउँदाको समयदेखिका दौँतरीसमेत हुन् । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले गरेका हुन् । डिएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा स्रोतामाझ आउन लागेको गीतको भिडियोमा निकै मेहनत गरिएको डिएआर मुभिजका राजाराम गौतमले बताए ।

भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिश मेहरा तथा कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । सोलुखुम्बुको रमणीयस्थलमा भिडियो छायांकन गरिएको डीएआर मुभिजका विवेक चौलागार्इँले बताए । केही समयअगाडि “भुल“ लोकदोहोरी गीतमार्फत् घमेश दुलाल आउने चर्चा भएको थियो । भुलमा लोकप्रीय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकी छन् । उक्त गीतको सुटिङ गर्न उपयुक्त समयको पर्खाइमा रहेकाले वनमा खयर त्योभन्दा अगाडि आएको एक्सन स्टुडियोका सञ्चालक तथा गायक एवं सर्जक श्याम धितालले बताए । यसपछि पनि उनका लगातार गीत आउने तयारीमा रहेका छन् ।