इटहरीः चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने (६, ७ र ८) फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ ।

बिहीबार काठमाडौँस्थित चलचित्र विकास बोर्डको सभा हलमा एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको हो । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा सुरु भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी रहेका छन् । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको कार्यशालाको उद्घाटन सत्रमा फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे । कार्यशालाबाट लगनशिलता र अनुशासन सिक्न उनले पत्रकारहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले आफ्नो पेशाप्रतिको लगनशिलता र अनुशासनलाई सधैं पहिलो सर्त बनाउन पनि आग्रह गरे । राजनीतिक पत्रकारिता गर्नेहरुले चलचित्र पत्रकारितालाई कुनामा राख्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले चलचित्र पत्रकारिता राजनीतिक पत्रकारिताभन्दा अगाडि आउनुपर्ने बताए । कार्यक्रममा उनले भने, ‘राजनीतिक पत्रकारिताभन्दा चलचित्र पत्रकारिता किन अगाडि आएन भनेर समीक्षा गर्नुपर्छ । एउटा वर्गका लागि एउटा राजनीतिक पत्रकारिता मनपर्छ । अर्को पक्षलाई अर्को राजनीति पत्रकारिता मनपर्छ । तर, चलचित्र पक्ष वा विपक्षको हुँदैन । चलचित्र समग्रतामा हुन्छ । यसले समग्रतामा समीक्षा गर्छ । त्यसैले चलचित्र पत्रकारिता सबैभन्दा अगाडि आउनुपर्छ ।’ चलचित्र पत्रकार वा समीक्षकमा चलचित्रको स्वरुप नै बदल्न सक्ने तागत रहेको उनले बताए । अध्यक्ष दाहाल अगाडि थप्छन्, ‘एउटा बाटोमा हिँडिरहेको सिनेमाको धारलाई अर्को बाटोमा लैजान सक्छ । चलचित्र पत्रकारले सिनेमा बनाउन जान्नु पर्दैन, उसले प्रयोग गर्ने भाषा र समीक्षाले चलचित्रको लेखन वा निर्माण शैलीको स्वरुपलाई नै उत्कृष्ट शैलीमा पर्दापण गराउन मद्दत पु¥याउँछ ।’ चलचित्र पत्रकार संघका अध्यक्ष सिटौलाले कोरोना महामारीको समयमा चलचित्र पत्रकारहरुले पत्रकारितालाई जारी राखेकोमा आभार व्यक्त गरे । नयाँ कार्यसमिति आएपछि व्यवसायिक चलचित्र पत्रकारितालाई प्रभावकारी बनाउन थुप्रै योजना बनाए पनि कोरोनाले सम्भव हुन नदिएको उनले बताए ।

उनले चाँडै संघले विभिन्न कार्यक्रमहरु लिएर आउने प्रतिवद्धता जनाएका छन् । कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिनेछन् । फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला उपयोगी बन्नेमा चलचित्र पत्रकार संघका महासचिव समिर बलामीको विश्वास छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्यकार संघका अध्यक्ष जनक कार्की, द्धन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानको सहभागिता रहेको थियो । सबैले तीन दिने कार्यशालाको सफलताको शुभकामना दिएका थिए ।