तिमी स्वीकार
या नस्वीकार जे गर
तर हामीले प्रेम दिवस थाहा हुनुभन्दा धेरै अघि
पढेका हौँ प्रेमको वर्णमाला 
उतिबेलै हामी आफैंले उठाएका हौँ 
प्रेमको बढेमान पर्वत
त्यहीँ बनाएका हौँ 
प्रेमकै इट्टा इट्टा जोडेर सुरक्षित घर
बनाएका हौँ भव्य शहर
अनि बसाएका हौँ उज्यालो बस्ति
र एकाअर्कालाई गरेका हौँ बेस्सरी प्रेम ।
त्यो समय
एक साथ सयौं सूर्यहरु उदाएको समय
अचानक भेटिएका थियौँ हामी ।
यो शहर,
जहाँ फूलबाट छुट्ट्याउन सकिन्न सुवास
जसरी आगोबाट छुट्ट्याउन सकिन्न राप
त्यसैगरी छुट्ट्याउन सकिन्न 
अनुहारबाट समावेसी आभा ।
र अलग्याउन सकिन्न मनको आलिशानबाट 
प्रेमको लोकप्रिय लय ।
नहिँडुन्जेलको झाडी बाटो 
हिंड्दै गएपछि गोहो बन्छ
यस्तै ससाना गोरेटोहरु भेटिएर
हामी चौडा सडक बन्यौँ ।
बगानका झाङहरुबाट चिया टिपेझैँ
उमेरका रङ्हरु टिपेर
रङ्गैरङ्गको इन्द्रेणी बनायौँ
फूलहरुको बस्तिबीच 
कहिले फूल त कहिले सुगन्ध बाच्यौँ ।
रहरको लट्टाइमा फनफनी बाँधिएर
विश्वासको चङ्गा अग्लिरह्यौँ
यो यस्तो उचाइ,लाग्छ
यहाँभन्दा माथि अर्को आकाश छैन
तमाम तारा नक्षत्रहरु यतै छन् ।
यो यस्तो प्रेमको शहर
जहाँबाट सिङ्गै संसार आँखामा देख्न सकिन्छ
जहाँ अविराम बजिरहन्छ प्रेमको सारङ्गी
अनि गुन्जिइरहन्छ प्रेमगीत ।
यही बाटोमा हिँड्दाहिँड्दै कतै भेटेका हौँ
कैयौं पटक अराजक पहाडहरु
सुनेका हौँ थुप ्रैपटक 
विसङ्गत र असभ्य सर्तहरु 
र अन्तमा देखेका हौँ असिनाजस्तै बिलाएर गएको 
समयको एउटा अमानक गर्त ।
बर्षात्पछि खुलेको पृथ्वीझैँ
यो सफेद मौसम हेर्दै
त्यसपछि 
यही सर्वोच्च प्रेम शिविरमाथि बसेर
गाएका हौँ हामीले पहिलो प्रेमगीत
र एक एक टुक्रा कलेजो निचोरेर
रातो मसीले लेखेका हौँ
प्रेमको सर्वमान्य र सार्वभौम सिद्धान्त ।।।
तारा पराजुली, बेलबारी मोरङ
                    
        
        
                            
                                                            
        



















