इटहरीः हरेक वर्ष पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म नेपाली महिलाहरूले गर्ने श्री स्वस्थानी व्रतको बारेमा लोकप्रिय गायिका प्राश्ना शाक्यले भजन ल्याएकी छन् ।

अम्बिका शाक्यको शब्द रहेको ’जय श्री स्वस्थानी माता’ भजनमा किरण कँडेलले संगीत र एरेन्ज रहेको छ । प्रज्ञा साउण्ड म्युजिक स्टुडियोमा रेकर्ड भएको उक्त भजनलाई शम्भुकुमार तण्डुकारले रेकर्डिङ गराएका हुन् । भिडियोमा प्राश्ना स्वयंले अभिनय गरेकी छन् भने गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठ लगायतका गायिकाहरु विशेष भूमिकामा देखिएका छन् ।

प्रशान्त क्रियसनको पोस्ट प्रोडक्सनमा बनेको भिडियोमा सीता पराजुलीको मेकअप र प्रशान्त तामाङको निर्देशन रहेको छ । भिडियोलाई गायिका प्राश्ना शाक्यको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । ’जय श्री स्वस्थानी माता’ को भजन हेरेर दर्शकहरुले राम्रो राम्रो प्रतिक्रिया दिएका छन् ।