इटहरीः मोडलिङ क्षेत्रमा व्यावसायिक मोडल भित्र्याउने उद्देश्यले मोडलिङ प्रतियोगिता ‘द फेस’ आयोजना हुँदैछ ।

यो प्रतियोगिताको लागि प्रतिस्पर्धीहरु अन्तिम चरणमा पुगेका छन् । केही हप्ताको अभ्यासपछि उनीहरु अन्तिम प्रतिस्पर्धाको तयारीमा पुगेका हुन् । यो शनिबार बेलुका साँढे ५ बजेपछिबाट ललितपुरको झम्सिखेलस्थित द अर्वन हबमा ‘टी एफ द फेस’ मोडल कन्टेस्टको ग्रान्ड फिनाले हुन लागेको हो । यो फिनालेका लागि यतिबेला २६ जना युवा युवतिहरु विभिन्न अभ्यास गरिरहेका छन् । काठमाडौँका विभिन्न फेशन इन्स्टिच्युट र बुटिकले तयार पारेका डिजाइनहरुमा सजिएर यी मोडलहरु र्याम्पमा उत्रने भएका छन् । द फेसको अन्तिम प्रतिस्पर्धामा उत्रन तयार प्रतियोगीहरुमा सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ती चन्द, निश्चल दत्त, सारिका कटवाल, निना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अन्जना बराईली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल रहेका छन् ।

यस्तै, शुशिल चौधरी, बीना महर्जन, निर्मला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्वीकृति प्याकुरेल र शीतल श्रेष्ठ पनि यो प्रतियोगिताका ग्रान्ड फिनालेमा प्रस्तुत हुँदैछन् । उनीहरुलाई मोडल तथा कोरियोग्राफर सृजना रेग्मीले अहिले विभिन्न प्रशिक्षण दिइरहेकी छन् । यु क्यान फ्लाई अर्थात युसिएफले यो पेजेन्ट आयोजना गरिरहेको छ । कार्यक्रम सँयोजक समीक्षा हुमागाईका अनुसार बिजेताले विभिन्न उत्पादनमा मोडलिङ, र्यfम्प शोसहित धेरै अवसरहरु प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागीहरुले फिजिक राउन्डअन्तर्गत फरेनहाइट क्लबमा आफ्नो फिजिक शो अप गरेका छन् । जसमा उत्कृष्ट तीन बेष्ट फिजिक पुरुष र उत्कृष्ट तीन बेस्ट फिजिक महिला मोडल चयन गरिएको छ । जसमा पुरुषतर्फ फिजिक चयन भएकाहरुमा युद्ध बानियाँ, आशिष गिरी र हेमन जोशी रहेका छन् । यस्तै महिला मोडल तर्फ उत्कृष्ट तीन फिजिकमा कृपा अधिकारी, स्वीकृति प्याकुरेल र क्रान्ति चन्द रहेका छन् । यी तीन जना मध्येबाट उत्कृष्ट पुरुष र महिला फिजिक चयन ग्रान्ड फिनालेमा गरिने पनि आयोजक पक्षले जनाएको छ ।