इटहरीः संगीतकार मनोज राजसँग सम्बन्ध विच्छेद गरेको एक दशकपछि चर्चित गायिका अन्जु पन्तले आफ्ना प्रेमी थीर केसी (कोइराला) सँग विवाह गर्ने भएकी छन् ।

एक वर्षदेखिको प्रेम सम्बन्धपछि आफूहरुले विवाह गर्न लागेको थीरले बताएका छन् । उनका अनुसार पारिवारिक सहमतिमै विवाह हुन लागेको भएपनि मिति भने तय भइसकेको छैन । इलाम स्थायी घर भई सुनसरीको इटहरीमा लामो समय पत्रकारितासँगै गैर सरकारी संस्थामा आबद्ध रही कार्य गरेका थीर झन्डै एक दशकअघि काठमाडौँ पुगेका हुन् । त्यहाँ उनले गैर सरकारी संस्थामा काम गर्नुका साथै नेपाल टेलिभिजनबाट प्रसारित ‘सर्वाङ्गिण सम्वाद’ नामक कार्यक्रमसमेत सञ्चालन गरेका थिए ।

सोही कार्यक्रमको छायाँकनका सिलसिलामा उनको भेट अन्जुसँग भएको थियो । ६ वर्षअघि पहिलो पटक भेटिएका उनीहरुबीच एक वर्षअघि मात्र प्रेम सम्बन्ध स्थापित भएको हो । थीर र अन्जु दुवै क्रिस्चियन धर्मावलम्बी हुुन् ।