इटहरीः नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकिय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत् प्रसारण हुने भएको छ ।

नेपालको ७७ वटै जिल्लामा विभिन्न समयमा खिचिने यस टेलिचलचित्र यस पुस २३ गतेबाट प्रत्येक बिहीबार साँझ ७ बजे प्रसारण हुने बताइएको छ । मंगलबार नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा प्रसारण समय र टेलिभिजनबारे जानकारी गराइयो । कार्यक्रममा अतिथिको रुपमा उपस्थित रहेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रशंसा गरे ।

उनले नेपालको पर्यटकीय क्षेत्रहरुलाई एक टेलिचलचित्रमार्फत् देशव्यापी बनाउन खोजेको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद दिए । ‘पर्यटन बोर्डले गर्नुपर्ने काम कलाकारहरुले गर्नुभएको छ, यो त हाम्रो लागि निकै राम्रो कुरा हो । पर्यटन बोर्डले गर्न सक्ने सहयोग गर्नेछ ।’ रेग्मीले भने । यस्तै कार्यक्रममा उपस्थित रहेका सूचना तथा सञ्चार मन्त्रालयका प्रेस विज्ञ राजेन्द्र मानन्धरले अहिलेको कोरोनाको अवस्थामा पनि देशको पर्यटनलाई उठाउन मद्धत गरेको भन्दै टेलिचलचित्र टिमलाई शुभकामना दिए । उनले भने, ‘कोरोना भाइरसले आफै बिपदमा परिरहनुभएका कलाकारहरुले यति राम्रो काम गर्नुभएको छ । यो टेलिचलचित्रले जस्तै नेपाल टेलिभिजन पनि सबै वर्गको समावेसी टेलिभिजन बन्ने प्रयत्न गरिरहेको छ ।’

IMG_3269

 

पर्यटकीय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ को पहिलो चार भाग नेपालको पर्यटकीय क्षेत्र जुम्ला र मुगुमा खिचिएको जानकारी गराइयो । यस्तै कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको प्रोमो पनि देखाइएको थियो । टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केही कलाकारसँगै अन्य अधिकांश स्थानीय कलाकारको अभिनय रहेको छ । टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले छायांकनको क्रमको अनुभव सुनाउँदै भने, ‘सुरुको चार भाग खिच्न हामी जुम्ला र मुगुमा पुगेका थियौं । त्यहाँको मौलिकताको प्रशंसा गरेरै सक्दिन, त्यहाँको रितिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यही मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवस्य मन पर्नेछ ।’

जुम्ला र मुगुमा चार भाग खिच्नकै लागि १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिए । ‘नेपालको पर्यटन, संस्कृति, प्राकृतिक विविधता, भाषा, जात, धर्म तथा विभिन्न पर्वहरुको प्रचार तथा त्यसको संरक्षणका लागी बज्रलिंक मिडियाले यसअघि पनि काम गर्दै आएको छ । यसपटक हामी हाम्रो नेपालको पर्यटनलाई देशव्यापी बनाऔं भनेर हाम्रो तर्फबाट सोचेर यो टेलिचलचित्र निर्माण गरेका हौं ।’ निर्माण कम्पनी बज्रलिंक मिडियाका अध्यक्ष समेत रहेका निर्देशक लामाले भने । पर्यटनलाई सहयोग हुने हेतुले निर्माण गरिएको यो टेलिचित्रमा हरेक जिल्लाभित्र पर्ने प्रमुख हिमश्रृंखलाहरु, तालहरु, नदीनालाहरु, मन्दिर, गुम्बा, चैत्यहरु, प्रमुख जात्रा, पर्व, मेलाहरु, यहाँ बसोवास गर्ने समुदायका लोक नृत्यहरु, जाति विशेष बाजा तथा भेषभुषा, गरगहना तथा लोक गीत संगीत, व्यवस्थित पर्यटकलक्षित होटल तथा लजहरु, यातायाको सुविधाको लागि राजमार्गहरु, विकास निर्माणका कार्यहरु आदि समेटिने बताइएको छ ।

यस टेलिचलचित्रमा राजाराम पौडेल, रवीन्द्र झा, रेशम बुढाथोकी, रामबाबु रेग्मी, अजय रेग्मी, गोविन्द सुनार, अस्मिता बस्नेत, सेबिता अधिकारी, संगम राई, दीप्त प्रकाश काश्यप, कविता न्यौपाने, सस्मिता गिरी, भगवती खड्का, रोहित खड्का, सिमरन, रिदम श्रेष्ठ लगायतको अभिनय रहनेछ । प्रवेश पोखरेल र गोकुल रावतले खिचेका छन् भने रविन भट्ट र सौखिन तिमल्सिनाको सम्पादन रहनेछ । टेलिचलचित्रमा कर्मा डि लामा, गणेश तामाब र कुइसाब तामाब रुम्बाको लगानी रहनेछ । कथा लेखक रेशम बुढाथोकी रहेका छन् ।