धरानः १५ वर्षपछि नेपथ्य ब्याण्ड धरानमा गुञ्जिने भएको छ । धरान १८ को मङ्गोलियन क्याफे (एमसी कफी) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको सामाजिक संस्था परिक्रमा विद्यार्थी परिवारको संयुक्त आयोजनामा नेपथ्यको लाइभ कन्सर्ट तय भएको हो ।
नेपथ्यले धरान रङ्गशालामा आगामी मंसिर ७ गते लाइभ कन्सर्ट गर्ने कार्यक्रम संयोजक पूर्ण राईले बताए । शिक्षा र स्वास्थ्यलाई लक्षित गरेर कन्सर्ट आयोजना गरिएको संयोजक राईले बताए । नेपथ्य ब्याण्डको सो लाइभ कन्सर्टबाट सङ्कलित रकमले ‘परिक्रमा रिसर्च फाउण्डेशन’ खोलिने संस्थाका अध्यक्ष सागर पन्थीले बताए ।
दक्षता हासिल गर्नको लागि एमबिबिएस, बिडिएस अध्ययनरत विद्यार्थीहरूले अनिवार्य रिसर्च गर्नुपर्ने तर, विद्यार्थी एक्लैले रिसर्च गर्न सम्भव नभएकाले विद्यार्थीको लागि रिसर्च गर्न सहज बनाउनको लागि रिसर्च फाउण्डेशन खोल्न लागिएको उनको भनाइ थियो ।
त्यस्तै, धरान रनद्वारा सञ्चालित ‘नेवा च्यारिटी एजुकेशन’ को लागि पनि केही रकम प्रदान गरिने संयोजक राईले बताए । संयोजक राई एमफी कफीका सञ्चालक समेत हुन् ।
कन्सर्टका लागि नेपथ्यको ६२ सदस्यीय टोली धरान आउने भएको छ । कार्यक्रमको कुल लागत ५५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।