इटहरीः पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै सक्रिय रुपमा लागिरहेकी भएकी गायिका डा.रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत ‘मन्जुरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संचारकर्मी तुलसी बस्नेतको शब्द र राज सागरको संगीत रहेको गीतको भिडियोमा विकास लामिछाने र समिक्षा पोखरेलको अभिनय रहेको छ । बुद्ध थापाको सिनेमाटोग्राफी , विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । गीतलाई गायिका शाक्यको आफनै युट्युब च्यानल र संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो । विभिन्न डिजिटल प्लेटफर्ममा गायिका रानीका गीतहरु त्यतिकै धेरै सुनिएका छन् ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ४० वटाभन्दा बढी गीतहरु आइसकेका छन् । गायिका शाक्यले आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुका साथै चलचित्रको पाश्र्व गायनमा समेत आफूलाई अब्बल सावित गरिसकेकी छन् । यसअघि ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारिसकेकी गायिका शाक्य यही पुस १८ गते हुने स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको नोमिनेसनमा परेकी छन् ।