इटहरीः धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘ धरान शहर ’ बोलको गीतको म्युजिक भिडिओ सोमबार धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘ धरान शहर ’ सार्वजनिक गर्नु गरेकी थिइन् । सोही समयमा नै गायक ज्ञान सुब्बाको युट्यूब च्यानलमार्फत् पनि उक्त भिडियो सार्वजनिक गरिएको थियो । गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र ,विजयपुर, भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको उक्त गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । धरानस्थित भावना स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ ।

सिल्भर इन्टरटेनमेन्टको निर्माणमा थैली इन्टरटेनमेन्टका भुपेन्द्र तुम्बहाम्फेको छायाँकन र निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा रेखा लिम्बू ,विनोद बस्नेत,बादल श्रेष्ठ,जोयना लिम्बू विपना श्रेष्ठ,निशान लिम्बू र किरण श्रेष्ठको अभिनय रहेको छ भने सम्पादन अनिल रानाको रहेको छ । धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ, वरिष्ठ लोक गायक गंगा वरदान, वरिष्ठ कलाकार प्रेम सुब्बा , धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, धरान उपमहानगरपालिकाका पर्यटन समिति सहसंयोजक किशोर थुलुङ्ग लगायतको आतिथ्य रहेको कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ,वरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठले भिडियोमार्फत् शुभकामना सुन्देश दिएका थिए भने गायक ज्ञान सुब्बाका अन्य दुई वटा ओ ब्यस्त जीवन र हिउँदोको घाम गीतसमेत देखाइएको थियो ।

भर्खरै मात्र नेपाल जेसिज २०२१ को राष्ट्रिय उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याई विजयी भएका धरान जेसिज २०२० का अध्यक्ष दीपेन्द्र निरौलालाई प्रमुख अतिथि उपप्रमुख मञ्जु भण्डारी र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठद्वारा खादा र सम्मानपत्र दिएर सम्मानित गरिएको थियो । कार्यक्रममा बोल्दै संगीतकार जीवन भट्टराईले धरानको पर्यटनमा टेवा पुगोस् भन्ने अभिप्रायले यो गीत र भिडियो तयार गरेको बताए भने प्रमुख अतिथि उपप्रमुख भण्डारीले धरान पूर्वको पर्यटनको हबको रुपमा रहेको र यो गीत तयार गरेर धरानलाई दिएको उपहारको लागी सम्पूर्ण टिममा धन्यवाद व्यक्त गर्दै कलाकारहरुले आफ्नो ठाउँको लागि यसरी योगदान गर्नुपर्ने बताइन् ।