इटहरीः सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंहको एरेन्ज रहेको छ । प्रेमील जोडीको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा युवा युवति बीचमा रहने प्रेम र घातलाई कलात्मक रुपमा समेटिएका कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू निकै आशावादी रहेको गीतकार हिराकाजीले बताए । मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले देखाइएको छ ।

उत्तम हुमागाईँको छायाँकन, अनिल रानाको सम्पादन तथा हिराकाजी थापाको निर्देशन भिडियोमा रहेकोे छ । गीतको भिडियोमा लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रविण डिसी, आरध्य खड्का र तपस अधिकारीको अभिनय रहेको छ । गीतको भिडियो काठमाडौँ उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो ।