इटहरीः गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी पुस ११ गते शनिबारदेखि सुरु हुने भएको छ ।
एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रसारण हिमालय टेलिभिजनबाट पनि गरिनेछ । विश्वभरका सैयौं प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा छ । कोभिड १९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाईन प्रतिस्पर्धामा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रेजिना रिमाल रहनेछन् । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन् । रोचक त के छ भने जेमिना श्रेष्ठ अष्ट्रेलियामा रहेर नै कार्यक्रमको सञ्चालन गर्नेछिन् भने निर्णायक मण्डलका एक सदस्य गायक विवेक श्रेष्ठ पनि अष्ट्रेलियामै रहेका छन् ।
प्रमुख कार्यकारी निर्माता रमन झाले गायन प्रतिस्पर्धामा निर्णायकको मत नै अन्तिम हुने जानकारी दिए । झाले भने, हामीले निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकहरुको प्रतिक्रियालाई ३० प्रतिशतका आधारमा निर्णय गर्नेछौं । निर्णायकमध्ये एक वरिष्ठ गायक दीप श्रेष्ठले आफ्नै मौलिकताका कारण हल अफ फेम दर्शकहरुको मन जित्न सफल हुने भन्दै देशबाहिर रहेका प्रतिभाहरुले कार्यक्रमबाट विशेष प्रोत्साहन प्राप्त गर्ने बताए । उनले भने, हुन त संगीतको सिमाना हुँदैन भनिन्छ । नेपालभन्दा बाहिर रहेका नेपालीहरुको प्रतिभा सम्मानमा यो एउटा कोशेढुंगा बन्नेछ ।
हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको छैन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् । गत नोभेम्बर १५ सम्ममा आएका आवेदन मध्येबाट निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन् । हिमालय टेलिभिजनमा राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुने हल अफ फेम सिजन २ को समापन आगामी माघ २४ गते शनिबार हुनेछ । कार्यक्रमको निर्माणमा विश्वस्तरको गायन प्रतिस्पर्धाहरुमा आफ्नो कला देखाइसकेका निर्देशक लक्ष्मण पौडेलको संलग्नता छ । विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिंग, म्युजिक भिडिया निर्माण, अन्तर्राष्ट्रिय प्रबद्र्धनलगायत समावेस छ ।