इटहरीः नझरेका फूलहरुको २० औँ शृङ्खला बुधबार सम्पन्न भएको छ ।
वरिष्ठ गायक दीप श्रेष्ठको जन्मोत्सव तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको हो । मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको कृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए । गायक श्रेष्ठको जन्मदिनको उपलक्ष्यमा नझरेका फूलहरुद्वारा उनलाई सम्मान गरिएको थियो । कला, संस्कृति र गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका प्रस्तोता केपी घिमिरेले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर ढकालले श्रेष्ठले गाएका गीतले धेरै कालखण्ड पार गरे पनि अहिले पनि उत्ति नै सान्दर्भिक रहेको बताउँदै उनले नेपालको साङ्गीतिक क्षेत्रमा गरेको योगदानको चर्चा गरे । यस्तै २० औँ शृङ्खलासम्म पुर्याउन यहाँका उद्योगी, व्यवसायी लगायतले गरेको सहयोगको सम्मान गर्दै यस्ता कार्यक्रमले कला, भाषा साहित्य, गीत, सङ्गीतका क्षेत्रमा लाग्ने नयाँ पुस्तालाई महत्वपूर्ण अवसर मिल्नेसमेत बताए ।
कार्यक्रममा उपप्रमुख धनमाया तामाङ्ले नगरले यस्ता कार्यक्रममा विशेष सहयोग गर्ने बताइन् । शुभकामना दिँदै साहित्यकार जेबी टुहुरेले श्रेष्ठजस्ता गायकले गाएका त्यसबेला रेडियोमा सुनेका गीत आज गायकसँगै बसेर सुन्न पाउनु सुखद् क्षण भएको बताए । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापाले २० औँ शृङ्खला सर्वोत्कृष्त भएको बताउँदै गायक श्रेष्ठको जन्मदिनसँगै बसेर मनाउन पाउनु यस क्षेत्रका कला र साहित्यप्रेमीहरुका लागि खुसीको क्षण भएको बताए ।
यसैगरी, सङ्गीतकार तथा गोकुलम रिसोर्टका सञ्चालक रमेश कार्कीले जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमलाई स्वागत गर्दै कार्यक्रम संयोजक कवि छबि वैरागी घिमिरेले लामो समयदेखि गर्दै आएको कार्यक्रममध्ये यो विशेष भएको बताए । कार्यक्रमको मुख्य उद्देश्य भनेको जिउँदोमा कला साहित्य गीत सङ्गीतका क्षेत्रमा सम्मान गर्ने उद्देश्य भएको बताए । यस्तै नेपाली कला भाषा साहित्यका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिँदै आएको पनि उनले बताए । गायक श्रेष्ठले आफ्ना गीत सुनाउँदै २०२५ सालमा पुस १ गते राजा महेन्द्रको अगाडि गीत गाएर आफूलाई गायकको रुपमा परिचित गराएको ‘म पथ्थरको देवता होइन...’ बोलको गीत दर्शकलाई सुनाएका थिए । धरानमा जन्मिएका गायक श्रेष्ठका सयौँ गीतहरु नेपालीको मनमस्तिष्कमा सजिएका छन् ।