धरानः लघुचलचित्र ‘द रेडमुन’को छायाङ्कन सकिएको छ । गत शनिबार शुभमुर्हत गरिएको चलचित्रको छायाङ्कन आइतबार सकिएको हो ।

थिएटर सहाराको प्रस्तुति रहेको लघु चलचित्रको निर्देशन रविन श्रेष्ठले गरेका छन् । कथा पनि उनकै रहेको छ । यसका निर्माता नवीन मेन्याङ्वो छन् भने क्यामेरामेन लुज सिंह छन् । माओवादीको सशस्त्र द्वन्द्वकालमा गाउँले जनजीवनमा यसले पारेको प्रभावलाई चलचित्रमा देखाइने निर्देशक श्रेष्ठले बताए ।

उनले भने, ‘कथा नयाँ छ, गज्जब छ, प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने प्रयास गरिएको छ ।’ चलचित्र १५ देखि २० मिनेटको हुने श्रेष्ठले जनाए ।

अन्तराष्ट्रिय चलचित्र महोत्सवलाई लक्षित गरेर लघुचलचित्र निर्माण गर्न लागिएको निर्माता मेन्याङ्बोले बताए । नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश १ ले आगामी वैशाखमा धरानमा आयोजना गर्न लागेको चलचित्र महोत्सवमा यसको पहिलो प्रदर्शन गर्ने योजना रहेको उनले जनाए ।

उनले भने, ‘त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूमा पनि पठाइनेछ, त्यसैले यसको गुणस्तरमा हामीले विशेष ध्यान दिएका छौँ ।’ अहिले यसको प्राविधिक काम भइरहेको उनले बताए ।

धरान–१४ को पञ्चकन्या मन्दिर परिसरमा शनिबार शुभमुर्हत गरिएको थियो । सङ्घीय सांसद् जयकुमार राई र नेपाल चलचित्रकर्मी महासङ्घका १ नम्बर प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले निर्देशन र क्ल्याप गर्दै चलचित्रको शुभमुर्हत गरेका थिए । मुर्हतमा सिनेमा कलाकार आरोही श्रेष्ठले अभिनय गरेकी थिइन् ।

लघु चलचित्रमा प्रेम सुब्बा, तुलसा थापा, आरोही श्रेष्ठ (बालकलाकार), विजय सुब्बा, हिमाल दाहाल, तीर्थ राज राई लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।