इटहरीः प्रदेश नम्बर १ को राजधानी बन्ने तरखरमा रहेको पूर्वकै मुख्य केन्द्रबिन्दुका रूपमा चिनिएको इटहरी मनोरञ्जनका दृष्टिले समेत प्रदेश एकको एक नम्बर बन्ने दौडमा रहेको छ । यहाँ प्रतिदिन नयाँनयाँ व्यवसाय सञ्चालन हुनुका साथै मनोरञ्जनका लागि सुविधायुक्त सिनेमा हल सञ्चालन हुने क्रम पनि बढिरहेको छ ।

इटहरीमा पछिल्लो समयमा अन्य सिनेमा हलहरूभन्दा भौतिक संरचनादेखि लिएर प्राविधिक क्षेत्रबाट सुविधा सम्पन्न आरएस सिने फिल्म (सुविधायुक्त सिनेमा हल) सञ्चालनमा आएको छ । सेन्ट्रल प्लाजा इटहरीको पाँचौँ तल्लामा रहेको यो सिनेमा हलको प्राविधिक र भौतिक व्यवस्थापन इटहरीमा चलिरहेका अन्य सिनेमा हलभन्दा उच्च स्तरीय रहेको सिनेमा हलका म्यानेजर सोहन सिंहले बताए । उनका अनुसार यस प्रकारको प्राविधिक पक्षबाट निर्माण भई सञ्चालनमा आएको यो नै इटहरीको पहिलो सिनेमा हल हो ।

२ वटा हल रहेको यसमा प्रयोग गरिएका उपकरणहरूले उच्चस्तरको फिक्चर तथा साउण्ड क्वालिटी दिने गरेको छ । आरामदायी वातावरण, फूल एयर कण्डिसन रहेको हलमा एकै पटक २ सय ७० जनाले सिनेमा हेर्न सक्ने सेन्ट्रल प्लाजा इटहरीका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठले बताए । सिनेमा हेर्न आउनेहरूका लागि फुड काउन्टरको व्यवस्था हुनुका साथै अण्डरग्राउण्ड पार्किङको समेत सुविधा भएको बताइएको छ ।

अनलाइन र फोनमार्फत् टिकट बुकिङको समेत सुविधा दिइएको जनाइएको छ । मर्निङ टाइममा टिकटमा विशेष छुटको व्यवस्था पनि गरिएको जनाइएको छ । सिनेमा हल भएभन्दा माथिका तलामा प्लाजाले नै इटहरीकै सुविधायुक्त होटल समेत सञ्चालनको तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ । दशैंअघि नै होटल बरण्डालाई औपचारिकता दिनका लागि आवश्यक तयारी धमाधम भइरहेको प्लाजका प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

उच्चस्तरीय रेष्टुरेन्टसहित होटल सञ्चालनमा आउन लागेको हो । पाँचौं तलादेखि माथि आठौंसम्म होटल तथा रेष्टुरेन्ट रहने उनले बताए । सो होटलबाट इटहरी लगायत अन्य स्थानको दृश्यावलोकन सजिलै गर्न सकिने उनले जनाए । पाँचौं तलादेखि मुनि विभिन्न व्यवसायहरू सञ्चालन शुरु भएका छन् । भाडामा सटर लिने व्यापारीहरूले दशैंभन्दा अगाडि नै सबै व्यवसायहरू सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम अगाडि बढाइरहेका छन् ।

प्लाजा पूर्ण रूपमा सञ्चालनमा आएपछि एउटै मलमा प्रवेश गरेपछि सपिङदेखि मनोरञ्जन र खाना तथा आरामदायी बसाइसमेतको सुविधा सेवाग्राहीले पाउने प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।