धनकुटा : निरन्तरको बर्षाका कारण धनकुटा जिल्लामा ५ घर बिस्थापित भएका छन ।
वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर बिस्थापित भएका हुन् । पहिरोका कारण धनकुटा १ हिलेका तेज बहादुर पौडेल र सेतुलाल तामाङको परिवार छिमेकीको घरमा स्थान्तरण गरिएको छ ।

यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवार बििस्थापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।
यस्तै साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको संगम स्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि वस्ती जोखिममा परेको हो ।

खोलामा पानीको वहाव वढिरहेकोले त्रास रहेको स्थानीय यामबहादुर राईले बताए । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले जानकारी दिए । पानी पर्ने वित्तिकै गर्जुवाको सिरमा पहिलो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको हो । पहिरोले छिन् छिनमै वाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम भइरहेको छ ।