इटहरीः इटहरी खानेपानी उपभोक्ता समिति ऋणमुक्त भएको छ ।
२०६३ जेठदेखि दुई पटक गरेर संस्थाले लिएको ऋण सावा र ब्याज गरी झण्डै ११ करोड रुपैया तिरेको अध्यक्ष रामप्रसाद चौलागाईले बताए ।
अध्यक्ष चौलागाईका अनुसार भाकाको १० वर्षअघि नै संस्थाले ऋण तिरेको बताउँदै असार ११ गते नै बक्यौता पठाएपछि ऋण तिरिएको जनाउ पाएको उनले बताए ।

इटहरी साना सहरी खानेपानी आयोजनाले २०६३ साल जेठमा ५ करोड ऋण सम्झौता गरेको थियो । तर त्यतीखेर संस्थाको आर्थिक अवस्था राम्रो थिएन ।

जसको कारण २०६७ सालसम्ममा ऋण र ब्याज बढेर ७ करोड ५ लाखसम्म पुगेको उनले बताए । उक्त ऋणको भाका सन् २०२२ सम्म थियो ।
पछि लिइएको ३ करोड ५१ लाख ऋणको भाखा २०३० सम्म रहेकोमा दुवै ऋण यही असारमा तिरिएको उनले बताए ।