इटहरीः आज देशको प्रदेश नम्बर १ सहित ५ वटा प्रदेशका बिभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमति, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।

ती क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । सुदूरपश्चिम, प्रदेश ५, बागमति, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ । हाल देशभर मनुसुनी वायुको प्रभाव रहेकाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

यस्तो छ, भोलि र पर्सीेको मौसम पूर्वानुमान

शनिबार (२० असार)

दिउँसोः देशका सबै प्रदेशहरूमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हरेको छ । प्रदेश १, प्रदेश २, बागमति, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश ५ का १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार (२१ असार)

दिउँसोः प्रदेश ५, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २ र बागमति प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका १–२ स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको सबै प्रदेशहरूमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।