विराटनगरः पूँजी बजारसम्बन्धी गतिविधि काठमाडौंमा मात्रै सीमित रहेको समयमा १० दिनपछि विराटनगरमा पनि पूँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ ।

असोज १९ र २० गते विराटनगरमा प्रथम प्रादेशिक पूँजीबजार प्रदर्शनी सञ्चालन गरिने भएको छ । सो प्रदर्शनीमा धितोपत्र बजार, यसका औजार तथा सेवासम्बन्धी जानकारी दिने बताइएको छ । प्रदर्शनीमा १ सय वटा स्टलमार्फत् धितोपत्र बजारका विविध पक्षका बारेमा सर्वसाधारणलाई जानकारी दिइने बताइएको छ ।

त्यस्तै, सोही प्रदर्शनीबाट ‘एक नेपाली एक डिम्याट खाता’ अभियानको शुभारम्भ गरिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले असोज तेस्रो साता साताव्यापी विश्व लगानीकर्ता सप्ताह मनाउने क्रममा यी कार्यक्रम गर्ने भएको हो । नेपालको धितोपत्र बोर्ड पूँजी बजार नियमन निकायको अन्तर्राष्ट्रिय संस्था आइओएससीओको एसोसिएट सदस्य भएकाले सोही संस्थाको आह्वानमा लगानीकर्ता सप्ताह मनाउन लागिएको बताइएको छ ।

पूँजीबजार सम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरणमा समेत कार्यक्रमले सहयोग पु¥याउने बोर्डको दाबी छ ।