इटहरीः पत्रकार ऋषि धमला पत्नी तथा नवनायिका एलिजा गौतमले फिल्म खेलाउने शर्तमा धमलासँग बिहे गरेको भनी मिडिया गसिप छन् । तर, इटहरी आएकी धमला पत्नी एलिजा गौतमले यस्तो कुरा अस्वीकार गरिन् ।

 चलचित्र अनुरागको प्रवद्र्धन गर्न नायक समुद्र्र पण्डितसहित आएर इटहरीको रिपोर्टर्स क्लबमा बोल्दै गौतमले भनिन्, ‘एउटी केटीले कहिल्यै पनि शर्त राख्दिन । त्यस्तो विवाह मानिँदैन ।’ टेलिभिजन कार्यक्रम ‘धमलाको हमला’मा पनि आफूले यस बारेमा प्रष्टीकरण दिइसकेको गौतमले पत्रकार सम्मेलनमा बताइन् ।

विवाह जत्तिको ठूलो कुरा जीवनमा कसैको पनि नहुने भन्दै गौतमले आफ्नो विवाह हुँदा फिल्म खेलाउने वा हिरोइन बनाउने शर्त नराखेको बताइन् । असोज १२ गते देशभर रिलिज हुने चलचित्र अनुरागको टोली अहिले प्रदेश १ दौडाहामा छ ।

भरत गौतम र गीता भेटवालले लगानी गरेको चलचित्र अनुरागलाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् । चलचित्रमा ‘लिड रोल’मा रहेकी गौतम र पण्डितसँगै ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, मोहन निरौला र शिशिर राणालगायतको अभिनय रहेको छ ।

साङ्गीतिक प्रेमकथामा आधारित चलचित्रबाट आफू आशावादी भएको यही चलचित्रबाट डेब्यु गरेका नवनायक समुद्र पण्डितले बताए ।