ठुलो जहाज चढेँर
एसिको बाकसमा
साँइला दाई आउनु भयो
उहाँ संगै दर्जनौ दाजुभाई आए ।
बर्षौ पहिले,
कालो छाला लिएर
मनभरी पीडा लिएर
धेरथोर ऋणपान लिएर
सपना आलिसान लिएर
गएको साँइला दाई आउनु भयो
ठुलो जहाज चढेर
एसिको बाकसमा ।।
उहाँका पसिनाको मोलमा
तोप, सलामी टक्रेन
कहि कतै परेड चलेन
बाटोमा सहिद भनिदेँउ भन्दै
टायर पनि जलेन
रुदै रुदै गएको साँइला दाई
चुपचाप चुपचाप आउनु भयो
ठुलो जहाज चढेर
एसिको बाकसमा ।।
रेमिट्यान्समा उहाँले जन्माएका
रकम भुक्तानी कोडहरु
उहाँको जिवनका लेजरमा
छन कि छैनन
उहाँको पसिनाले नुहाएका
सफा सुग्गर नोटहरु
बाकस छेउ कन्तुरोमा
छन कि छैनन 
न हिसाब छ, न निसाब छ
बेखर्ची बेखर्ची भएर साँइला दाई आउनु भयो 
ठुलो जहाज चढेर
एसिको बाकसमा ।।
सपनाका पेश्की फस्र्यौट नहुदै
देशको कमाईको आशा टुटाएर
सिन्दुर पुछेर,हातको चुरा फुटाएर
धान रोप्दा रोप्दै,
दाउरा काट्दा काट्दै
गएको साँइला दाई
मेलापात जान नसक्ने भएर आउनु भयो 
ठुलो जहाज चढेर
एसिको बाकसमा
साँइला दाई आउनु भयो
उहाँ संगै दर्जनौ दाजुभाई आए ।
                    
        
        
                            
                                                            
        



















