इटहरी : आइतबार सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण नेपालमा बिहान १०ः५५ देखि शुरू भई दिउँसो २ः२४ समाप्त हुने छ ।

मध्याह्न १२ः०४ बजे सूर्यलाई करीब ८८ प्रतिशत ढाकेको देखिने छ । ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ ।

आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।

लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ ।

यो ग्रहण वलय(पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ ।

ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उनले बताए ।

चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ ।

आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो ।

ग्रहणका बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन ।

ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । त्यसदिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुने खगोलविद् आचार्यले बताए ।

धर्मशास्त्रअनुसार सूर्यग्रहण मेष, सिंह, कन्या एवं मकर राशि भएका मानिसले मात्र हेर्न हुने समितिका सदस्य सचिव तथा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।

वैज्ञानिक मतमा भने सूर्यग्रहण जो सुकैले सुरक्षित तरिका अपनाएर हेर्न हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई बताउछन् ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो । खगोलविद्का लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद् सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् । साना बालबालिकाका लागि विज्ञानमा रुचि पैदा गराउन यस्ता घटना उपयोगी हुन्छन् । नेपालबाट करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिन्छ । रासस