इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु भएको छ । सुनसरीमा बसोबास गर्ने उराव समुदायले आफ्नो महान पर्व करम पूजाको पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम शुरु गरेका हुन् ।

नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रममा उरावहरूले जातीय पहिरनमा ¥याली पनि निकालेका थिए । उरावको महान पर्वको बारेमा जानकारी दिन तथा भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उरावले बताए ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उरावहरूको हरेक कार्यक्रम र आरक्षणका लागि पहल गरिने जनाए । उनले उरावहरूको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

karam puja  (1)

प्रदेश १ का प्रतिपक्षी दलका नेता राजीव कोइरालाले उरावहरूको आफ्नै मौलिक पहिचान भएकाले उनीहरूको संरक्षणमा आफ्नो योगदान रहने जनाए ।

प्रतिनिधि सभा सदस्य सीताराम मेहताले उरावहरू नेपालका धर्ती पुत्र भएकाले उनीहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व आवश्यक रहेको उल्लेख गरे । उरावहरूको पहिचान तथा सम्मानका लागि काम गर्ने उनको भनाइ थियो ।

उरावहरूले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने र सुन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गर्ने शिक्षक परमेश्वर उरावले उल्लेख गरे । सांस्कृतिक कार्यक्रममा उराव कलाकारहरूले नाटक, नृत्य र झाँकी प्रदर्शन गरेका थिए ।

करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिएको नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठानका सहसचिव सञ्जीव उरावले बताए ।

प्रतिष्ठानका सल्लाहकार नुनुलाल उरावले नयाँ पुस्तालाई उराव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति प्रति जानकारी दिने र इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउने उल्लेख गरे ।