उदयपुर: उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।
वेलका नगरपालिकाका २ जना क्वारेन्टिनमै रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए । मेयर थापाका अनुसार उनीहरु श्रीमान् श्रीमती हुन् ।

उनीहरु भारतबाट गत जेठ १५ गते हिड्दै भोजपुर जान लागेका थिए । तर लकडाउनका कारण भोजपुर जान नसकेकाले बेलकाको क्वारेन्टाइनमा बसेका थिए । २९ जनाको स्वाव परिक्षण गर्दा २ जनामा पोजेटिभ आएको मेयर थापाले बताए । अहिले उनीहरुलाई विराटनगर कोभिड अस्पताल लैजाने तयारी भइरहेको छ । दुवै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

यस्तै १ जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । मेयर राईका अनुसार मौखिक रुपमा जानकारी आएको छ तर स्वास्थ्य मन्त्रालयले पुष्टि गरि नसकेको बताए ।