धरानः आरम्भ नाट्य डबली धरानले रङ्गमञ्चमा पुस्तान्तरण गर्नेे उद्देश्यले शनिबारदेखि नाट्य अभिनयसम्बन्धी आधारभूत कार्यशाला चौथो शृङ्खला शुरु गरेको छ ।

धरान–१२ स्थित आरम्भ डबलीको हलमा अभिनयसम्बन्धी आधारभूत कार्यशालाको चौथो शृङ्खला श्ुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले कार्यशालाको कोर्स पुस्तिका आरम्भका अध्यक्ष गोपाल देवानलाई हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।

१५ दिनसम्म सञ्चालन हुने कार्यशालामा १२ देखि १६ वर्ष उमेर समूहका ३० जना बालबालिकाले भाग लिएको आरम्भका सचिव कृष्ण तिम्सिनाले बताए । तिम्सिनाका अनुसार धरान–१४ का विभिन्न बाल क्लब, दन्तकाली मावि, आइडियल बोर्डिङ र पिण्डेश्वर संस्कृत विद्यालयका विद्यार्थी कार्यशालमा सहभागी छन् ।

धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले अभिनय प्रशिक्षण लिने बालबालिकाको खाजाका लागि ५ हजार रुपैयाँ प्रदान गरे ।
आरम्भले २०७३ वैशाखमा ३ दिने र १५ दिने तथा २०७४ असारमा ७ दिने गरी ३ वटा नाट्य अभिनय कार्यशाला सम्पन्न गरिसकेको छ ।