इटहरीः नेपालमा कोरोनाभाइरसको सङ्क्रमण समुदायमै फैलिन सक्ने चिन्ता व्याप्त रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार नेपाल टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गरेका छन्।
केही साताअघि मात्रै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीले यसअघि चैत ११ गतेबाट सुरु लकडाउन अर्थात् बन्दाबन्दी गर्नुअघि सम्बोधन गरेका थिए। नेपालीहरू बन्दाबन्दीमा रहेको १५ औँ दिन ओलीले मङ्गलवार गरेको सम्बोधनका क्रममा समस्त “मानवजातिलाई नै चुनौती दिइरहेको“ कोरोनाभाइरसलाई परास्त गर्न “सीमित स्रोत र साधन भएको“ नेपालले पनि आफ्नो तर्फबाट यथासम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गरे। तर उनले सरकारको आलोचना भएकोमा रोष प्रकट गरे।
बीबीसीले तयार पारेको उनको सम्बोधनकाे पाँच प्रमुख पक्ष यी हुन्ः
१.अझै उच्च जोखिमको अवस्था
नेपालमा अहिलेसम्म पहिलो स्थानीय रूपमा सरेको सङ्क्रमणसहित मङ्गलवारसम्म जम्मा नौ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएको छ। देशैभरि गरेर १५०० बढी नमुना परीक्षण भइसकेको छ। सम्बोधनको सुरुमा ओलीले नेपालमा अझै सङ्क्रमण फैलिने जोखिम उच्च रहेकोले लकडाउन अर्थात् हिँडडुलमा लगाइएको प्रतिबन्धको अवधि लम्ब्याइएको बताए।
उनले हजारौँ मानिस विदेशबाट फर्किएको अवस्थामा कोरोनाभाइरस थप फैलिने उच्च जोखिम कायमै रहेकोले सावधानी अपनाउनु पर्नेमा जोड दिए।
२. देशविदेशमा छरिएका नेपालीको चासो
सम्बोधनका क्रममा ओलीले नेपाल(भारत सीमावारि र पारि रोकिएका नेपाली र भारतीय नागरिकहरू सुरक्षित रहेको बताउँदै उनले सङ्क्रमण थप फैलिन नदिन मानिसहरू अहिलेको अवस्थामा “जहाँ छन् त्यहीँ नै रहनुपर्ने“मा जोड दिए।
उनले विदेशमा छरिएर रहेका नेपाली समुदायहरू समेत कोरोनाभाइरसबाट सङ्क्रमित भएको र केहीको मृत्यु समेत भएकोमा दुस्ख व्यक्त गरे। उनले नेपालमा रहेका विदेशीलाई नेपाल सरकारले हेरचाह गरे जस्तै विदेशमा रहेका नेपालीहरूको पनि सम्बन्धित देशका सरकारले हेरचाह गर्ने आशा व्यक्त गरे।
सबैतिर छरिएका नेपालीहरूलाई आवश्यक सहयोग र्पुयाउन आफ्नो सरकारले काम गरिरहेको उनको भनाइ छ।
३.नेपाल सरकारको पूर्वतयारी

ओलीले अहिले विश्वमा फैलिएको कोरोनाभाइरसको महामारीले समग्र विश्वमै पूर्वतयारी कमजोर रहेको तथ्य उजागर गरिदिएको बताए। उनले नेपालले सीमित स्रोतसाधन भए पनि अहिले कोरोनाभाइरसलाई परास्त गर्न आवश्यक काम गरिरहेको बताए।
उनका अनुसार हालसालै गठित केन्द्रिय स्तरको सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले केन्द्र प्रदेश जिल्ला र स्थानीय तहसँग मिलेर कोरोनाभाइरससँग जुझ्न आवश्यक काम गरिरहेको छ।
उनका अनुसार देशमा अहिले ३०,००० बढी मानिसलाई एकान्तवासमा राख्न सकिने क्वारन्टीनको व्यवस्था गरिएको छ, नौ हजार जनाभन्दा बढीलाई क्वारन्टीनमा राखिएको छ र ३,००० भन्दा बढी मानिस राख्न सकिने एकान्त अस्पताल शय्या तयार पारिसकिएको छ।
देशमा कोरोनाभाइरससँग जुझ्न पर्याप्त स्वास्थ्य उपकरण तथा सामग्री नभएको भन्ने गुनासो भइरहेको बेला प्रधानमन्त्री ओलीले अहिले सातै प्रदेशमा कोरोनाभाइरस परीक्षण गर्ने प्रयोगशाला र स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई र मास्क जस्ता सामग्री पठाइसकिएको बताए। हजारौँ व्यक्तिको नमुना परीक्षण छिटो छरितो ढङ्गले गर्न आवश्यक परीक्षण पनि समेत प्रदेशहरूमा पठाइसकिएको उनको भनाइ छ।
४.अग्रपङ्क्तिमा रहेका कर्मचारीलाई प्रोत्साहन
ओलीले कोरोनाभाइरसविरुद्धको सङ्घर्षको अग्रपङ्क्तिमा रहेका सुरक्षाकर्मी, चिकित्सक, स्वास्थ्यकर्मी, चालक सहयोगी सफाइ कर्मचारीलाई “चिकित्सक सरह“ प्रोत्साहन भत्ता तथा बीमा सुविधाको व्यवस्था सरकारले गरेको बताए।
गाउँगाउँ र नगरका टोलटोलमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत प्रोत्साहन गरिएको बताउँदै उनले भने, “अहिलेको समयमा जीवनको रक्षाको अधिकार सबैभन्दा ठूलो मानव अधिकार हो।
“कोरोनाभाइरसविरुद्धको साझा लडाइँमा हामी सबै सिपाही हौँ। हामी सबै मिलेर कोरोनाभाइरसलाई परास्त पार्न सकिन्छ।“
५.सरकारका कामको बचाउ
दुई साताभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका कारण देशको अर्थतन्त्र ठप्प हुन पुगेको छ। तर प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई गति दिन ठूला विकास आयोजना र कृषि क्षेत्रका काम नरोकिने उपाय अवलम्बन गरिने बताए।
कोरोनाभाइरससँग जुझ्न आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिदका क्रममा अनियमितता भएका खबर हालै नेपाली सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएका छन्। ओलीले त्यसबारेका समाचार सामग्री आफूले पनि विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा पढेको बताए।
त्यस सन्दर्भमा आफ्नो सरकारका कामको बचाउ गर्दै ओलीले त्यससम्बन्धमा भएका “प्रचारबाजी“लाई “बेमौसमी बाजा“को सङ्ज्ञा दिए।
नले भने, “भ्रष्टाचार हुन नदिने सरकारको नीति छ। तर भ्रष्टाचार भएको रहेछ भने निर्ममतापूर्वक कारबाही गर्न सरकार किञ्चित पछि हट्नेछैन।“