इटहरी: नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डी ढकालले त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोसी प्रदेशले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ आयुर्वेदिक टोलस्थित माया घर नेपालको समीपमा स्थापना गरिएको १०८ शिव लिङ्ग स्थलले कोसी प्रदेशको धार्मिक पर्यटनमा नयाँ आयाम थप्ने काम गरेको बताएका छन् ।

१०८ शिव लिङ्ग स्थापना स्थलमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गको पाँचौँ दिन प्रमुख आकर्षक व्यक्तिका रूपमा सहभागी ढकालले इटहरी धार्मिक पर्यटकीय हब बनिसकेको उल्लेख गरे । पूर्व अध्यक्ष ढकालले सो परिसरमा स्थापना गरिएको १०८ शिव लिङ्गको दर्शन तथा अवलोकन समेत गरेका थिए ।
पूर्व अध्यक्ष ढकालले धार्मिक अनुष्ठान लगायतका गतिविधिहरूले नेपालको पर्यटन व्यवसाय चलायमान हुने गरेकाले यस्ता गतिविधीहरूलाइ अझ सकृिय बनाउन नेपाल सरकार र निजी क्षेत्र पनि लाग्नु पर्नेमा जोड दिए ।

उनले त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोसी प्रदेशको संकलप स्वरूप स्थापित गरेको १०८ शिव लिङ्गले यस क्षेत्रको धार्मिक गतिविधि बढ्नुका साथै भविष्यमा पर्यटकीय गनतब्य बन्नेमा कुनै मत नरहेको दाबी गरे । ढकालले यस क्षेत्रलाई आगामी दिनमा कोसी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बनाउन आफ्नो ब्यक्तिगत तथा संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
ढकालले १०८ शिवलिंग स्थलमा भइरहेको श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गमा करिब ३ घण्टा समय बिताएका थिए । उनले सोही समयमा माया घर नेपालको समेत अवलोकन गरेका थिए । उनले माया घर नेपालमा आश्रित बेसहाराहरूको आवास, खानपान र स साना बालबच्चाहरूको पढाइका साथ स्वास्थ्य उपचारका विषयमा पनि जानकारी लिएका थिए । माया घर नेपाल चालन गर्नुको उद्देश्य र सञ्चालन लगायत विषयमा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी गराएकी थिइन् ।
कोसी प्रदेशको इटहरी–२, आयुर्वेदिक टोललाई धार्मिक–पर्यटकीय स्थलका रूपमा परिचित बनाउन त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले १०८ शिव लिङ्ग स्थापना साथै गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गको आयोजना गरिरहेको छ।
कार्यक्रमको सुरुवात कात्तिक १४ गते भव्य कलश शोभा यात्रासहित सम्पन्न गरिएको थियो भने कात्तिक १७ देखि १९ गतेसम्म १०८ शिव लिङ्ग विशेष प्राण प्रतिष्ठा अनुष्ठान सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।

सोही अवसरमा नेपालका काठमाडौँ, पोखरा, धरान, वराहक्षेत्र, नवलपरासीलगायतका ठाउँहरूका साथै भारतका दिल्ली, सिक्किम, बिहार, सिलिगुडीबाट समेत धार्मिक तथा सामाजिक प्रतिनिधिहरूको सहभागिता रहेको छ। स्थापित शिव लिङ्ग र संरचनाहरू नेपाली पहिचान झल्किने गरी तयार पारिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र १०८ शिव लिङ्ग स्थापना तथा प्राण प्रतिष्ठा समिति संयोजक बाबुराम सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार करिब ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न यो परियोजनामा स्थानीय बासिन्दा, सङ्घ–संस्था र प्रदेश सरकारको समेत उल्लेखनीय सहयोग रहेको छ । इटहरीको सु कल्प सामुदायिक भवन, श्री विष्णु पाञ्चायन मन्दिर, धनकुटा–इटहरी सम्पर्क समाज, नेपाल शेर्पा सङ्घलगायत संस्थाहरूको नजिक रहेको यो स्थललाई “नमुना धार्मिक–पर्यटकीय गन्तव्य” का रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। कार्यक्रमले कोसी प्रदेशको धार्मिक पर्यटन विकासमा नयाँ पहिचान दिलाउँछ भन्ने विश्वास लिइएको छ । श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गको हरेक दिन कोसी प्रदेशका मुख्य पर्यटकीय गन्तव्यहरू व्यापक प्रचार प्रसार समेत गरिएको छ ।





















