इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडा तानिएका छन् । उनको ठाउँमा डिएसपी चन्द्र खड्का सुनसरी आउने छन् । खतिवडालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर काज सरुवा गरिएको हो । सुनसरीमा झन्डै ७ महिना मात्र कार्यकाल बिताएका खतिवडालाई अकस्मात् काज सरुवा गरिएको विषय चर्चामा छ । उनको काज सरुवा हुनुमा एसपी केशव थेबेको भूमिका रहेको दाबी गरिएको छ । थेबेले खतिवडाको कार्यसम्पादन चित्त बुझाएका थिएनन् । यस्तै केही मातहतका इन्चार्जले खतिवडाको व्यवहार प्रति एसपी समक्ष गुनासो गरेको प्रहरी स्रोतको दाबी छ । एसपी थेबेले सुनसरी जिल्लाको कमान्ड समालेपछि आफू अनुकूलको ट्वाईसी नभएको भनेर हेडक्वाटरमा गुनासो गदै आएका थिए । 

‘थेबे एसपीसाँव सुनसरी आए यता टु सर (डिएसपी)सँग राम्रो सम्बन्ध थिएन’ एक प्रहरी अधिकृतले प्रदेश पोर्टललाई भने ‘वान सर टु सरबिच काम गर्ने कुरामा फिटिक्कै तालमेल मिल्दैन थियो ।’ बिचमा मातहतका केही इन्चार्जले टु सरको कम्प्लेन समेत गरेका थिए । ‘त्यसो त, डिएसपी खतिवडासँग अघिल्लो एसपी सुमन कुमार तिम्सिनाको समेत खासै राम्रो तालमेल मिलेको थिएन’ ती प्रहरी अधिकृत भन्छन्: ‘खतिवडा सरको व्यक्तिगत आचरणको कारण काज सरुवा भएको हुनसक्छ ।’ डिएसपी खतिवडामाथि सुनसरीमा रहँदा आफ्नै सहकर्मीमाथि कुटपिट र अपशब्द बोलेको समेत आरोप छ । 

डिएसपी तानिएको विषयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलले ‘नियमित प्रक्रिया’ भएको मात्र प्रतिक्रिया दिए ।

डिएसपीको सरुवामा संयोग के छ भने, सुनसरीका एसपी थेबे बिदामा रहँदा डिएसपीको काज सरुवा गरिएको छ ।  हाल खतिवडाको ठाँउमा काज सरुवा भएर आउन लागेका अर्को डिएसपी खड्का भने प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । सुनसरीका एसपी थेबे बिदाबाट फर्किएपछि मात्र डिएसपीहरूको अदली बदली हुने जनाइएको छ ।