इटहरीः कोरोना भाइरस (कोभिड(१९) को नमूना परीक्षण सरकारकाले देशका विभिन्न १० स्थानबाट शुरू गरेको छ । काठमाडौंसहित धरान, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६९७ जनाको नमूना परीक्षण गरिएको छ। मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा सोमबार दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १२ सहित १०७ जना आइसोलेसनमा रहेका छन् ।
देशभरी नौ हजार १६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। देवकोटाका अनुसार राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच दशवटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ।
राष्ट्रिय एम्बुलेन्स सेवाका पाँच, मन्त्रालयका चार र महानगरका एक सहित दशवटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन्। यसैगरी, नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पलताको अनुगमन गरेको छ।
वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजमा अनुगमन गरिएको हो। कोरोना भाइरससँग सम्बन्धित सेवाहरू, जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।