गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने ब्रिटेनका अनुसन्धानकर्ताहरूले बताएका छन्।
लण्डनस्थित द किङ्स कलेजको एउटा समूहले कोभिड(१९ को लक्षण देखिएको विवरण एउटा एपमार्फत् व्यक्त गरेका ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययन गरेको थियो।
तर गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमणको पनि लक्षण हो। विज्ञहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने र कदम चाल्नुपर्ने लक्षण चाँहि ज्वरो र खोकी भएको उल्लेख गरेका छन्।
यदि तपाईँ वा तपाईँसँगै बसिरहेका कोहीमा निरन्तर खोकी वा उच्च ज्वरो देखिएको छ भने कोरोनाभाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि घरभित्रै बस्न सुझाव दिइएको छ।
अध्ययनले के फेला र्पायो?
द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले आफ्नो अध्ययन केन्द्रित गरेका थिए।
कोभिड सिम्पटप ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिए ।
५३ प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताए
२९ प्रतिशतले निरन्तर खोकी भएको बताए
२८ प्रतिशतले सास फेर्न गाह्रो भएको बताए
१८ प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको बताए
१०.५ प्रतिशतले ज्वरो आएको बताए
अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले कोभिड(१९ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड( १९ देखिएको थियो।
कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।
के स्वाद वा गन्ध थाहा नपाउनुलाई अब प्रमुख लक्षण मान्नुपर्छ? विज्ञहरूले अझै पनि पर्याप्त प्रमाण नरहेको जनाएका छन्। पब्लिक हेल्थ इङ्ग्ल्याण्ड र वर्ल्ड हेल्थ अर्गनाइजेशनले तिनीहरूलाई सूचीमा राखिसकेका छैनन्।
नाक, कान र घाँटीका चिकित्सकहरूको समूह ईएनटी यूकेले कोरोनाभाइरसको सङ्क्रमण देखिएका केही बिरामीमा यी लक्षण देखिनु आश्चर्यजनक नभएको जनाएको छ। तर ती लक्षणहरू कोभिड(१९ मा मात्रै सीमित छैनन्। द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले स्वाद वा गन्ध थाहा नपाउनुलाई थप लक्षणका रूपमा ध्यान दिनु उपयुक्त हुनसक्ने भनेका छन्।

तर त्यसलाई मात्रै नभई त्यो भन्दा महत्त्वपूर्ण ज्वरो र रुघालाई बढी प्राथमिकता दिन उनीहरूले सुझाएका छन्। प्रमुख अनुसन्धानकर्ता टिम स्पेक्टर भन्छन्, “जब अरू लक्षणहरूसँग जोडेर हेरिन्छ, स्वाद वा गन्ध थाहा नपाउने व्यक्तिहरूमा कोभिड(१९ को सङ्क्रमण भएको सम्भावना तीन गुणा बढी भएको हाम्रो तथ्याङ्कले देखाएको छ।“ “त्यही भएर त्यस्ता व्यक्तिले सङ्क्रमण फैलने अवस्था कम गर्न आफूलाई सात दिन एक्ल्याएर राख्नुपर्छ।“  बीबीसी